शेयर
पहिलो दिन नै आरक्षित शेयरको बाढी, दुई दिन पनि होल्ड नगर्नेलाई किन दिने आइपिओमा कोटा
सुवास निरौला
बुधबार दोस्रो बजारमा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सूचीकृत भयो । बिहीबारको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १०२ रुपैयाँ ३९ पैसादेखि ३०७ रुपैयाँ १७ पैसासम्मको रेन्ज तोक्यो ।
नेप्सेले तोकेको माथिल्लो रेन्ज भन्दा सात पैसा कममा बिहीबार कम्पनीको पहिलो कारोबार भयो । प्रति कित्ता मूल्य ३०७ रुपैयाँ १० पैसामा १० कित्ताबाट कारोबार शुरु भएको हो । पहिलो कारोबार मूल्यमा नै १०÷१० कित्ताको दरले तीन सय ४० कित्ता शेयर कारोबारमा आए । त्यसपछि कम्पनीको शेयर मूल्य बढ्न शुरु ग¥यो । सात सय २० कित्ताको शेयर कारोबारमै कम्पनीको मूल्यमा बढ्दो सर्किट लाग्यो । १० प्रतिशत बढेर सर्किट लाग्दा कम्पनीको मूल्य तीन सय ३७ रुपैयाँ ८० पैसामा उक्लियो ।
कम्पनीको मूल्यमा पहिलो दिन नै सर्किट लाग्दै गर्दा शेयर सप्लाईमा बाढी आयो । म्युचुअल फण्डले अत्यधिक शेयर सप्लाइ दिन थालेपछि यस्तो अवस्था देखियो । सप्लाइमा आएको बाढीले गर्दा नै कम्पनीको शेयरमा लागेको बढ्दो सर्किट धेरैबेर टिकाउ हुन सकेन । केही समयमै कम्पनीको शेयर मूल्य रातो हुन पुग्यो । यद्यपि अन्तिममा थोरै बढेरै शेयर कारोबार बन्द भयो ।
कारोबारमा आएकै दिन बिहीबार कम्पनीका १ लाख २७ हजार ५ सय ८२ कित्ता शेयर कारोबार भए । जसमा धेरै जसो म्युचुअल फण्डले पाएको आरक्षित शेयर बिक्री गर्न भ्याए । पहिलो कारोबार दिन १० कित्ताभन्दा बढी शेयर बेच्ने हैसियतमा म्युचुअल फण्ड मात्रै हुन्छन् । किनकि उनीहरूसँग बाहेक सर्वसाधारणसँग १० कित्ता भन्दा बढी शेयर छैन । कम्पनीले धेरैजसो लगानीकर्तालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरेको थियो । त्यस अर्थमा पहिलो कारोबार दिनमै १० कित्ता भन्दा बढी शेयर सप्लाई दिने म्युचुअल फण्ड नै हुन् । सबै म्युचुअल फण्डसँग कुल एक लाख ९ हजार ७ सय ७५ कित्ता शेयर छ । किनकि कम्पनीले ५ प्रतिशत शेयर म्युचुअल फण्डहरुलाई बाँडफाँड गरेको थियो । सोही शेयर पहिलो दिन नै म्युचअल फण्डले सप्लाइ दिएका हुन् । धेरैजसो म्युचुअल फण्डले बिहीबार नै सबै आरक्षित शेयर बिक्री गरेका छन् । शेयर पाएको महिना दिन नबित्दै तीन गुणा मूल्यमा सबैजसो म्युचुअल फण्डले दोर्दीको शेयर सल्टाएका छन् ।
म्युचुअल फण्डहरुले धेरैजसो प्राथमिक शेयरलाई एक महिना पनि होल्ड गर्ने गरेका छैनन् । दोर्दीमा त एक दिन पनि होल्ड गरेनन् । यसअघि रिभर फल्समा पनि उनीहरूले कारोबारमा आएकै दिन सबैजसो शेयर सल्टाएका थिए ।
प्राथमिक शेयर दुई दिन पनि होल्ड नगर्ने म्युचुअल फण्डको रणनीतिले दोस्रो बजारमा नकारात्मक सन्देश जान थालेको छ । जाने बुझेका संस्थागत लगानीकर्ताले नै दुई दिन पनि शेयर होल्ड नगर्ने गरेको देखासिकी सर्वसाधारणले समेत गर्न थालेका छन् । सर्वसाधारण लगानीकर्ताले समेत प्राथमिक शेयर होल्ड गर्न छाडेका छन् । जसले शेयर बजारमा दीर्घकालीन लगानी गर्ने भन्दा पनि सर्ट टर्म लगानी गर्नु पर्ने सन्देश तीव्र रुपमा फैलिन थालेको छ ।
सट्टा बजारको अर्काे रूप
यो प्रवृत्तिले शेयर बजारलाई वास्तविक रूपमै सट्टा बजार बनाउँदै छ । जाने बुझेकै संस्थागत लगानीकर्ताले नै नेपाली शेयर बजारलाई सट्टा बजार बनाउने रणनीतिमा अगुवाको भूमिका निर्वाह गरिरहेका छन् । जसले समग्र शेयर बजारलाई अस्थिर बनाउँदै लान थालेको छ ।
सर्वसाधारणदेखि संस्थागत लगानीकर्ताले सर्टटर्म कारोबार गर्दै बजारलाई तीव्र उतारचढावउन्मुख बनाउन थालेपछि बैंक, वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई कम्तीमा पनि एक वर्ष शेयर राख्नु पर्ने निर्देशन जारी गरेको छ । जबकि बैंक वित्तीय संस्थाले आरक्षित शेयर पाउने गरेका छैनन् । दोस्रो बजारमा कारोबार गर्दा समेत उनीहरूलाई कम्तीमा पनि एक वर्ष होल्ड गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न उक्त निर्देशन दिएको बताउँदै आएको छ ।
उता, सरकारले पनि शेयर बजारमा दीर्घकालीन लगानी गर्न प्रोत्साहित गरिरहेको छ । सरकारले दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न भन्दै करमा छुट दिँदै आएको छ । उसले एक वर्ष भन्दा कम अवधिको शेयर कारोबारमा साढे सात प्रतिशत पूँजीगत लाभकर लिने गर्छ भने सर्ट टर्म कारोबारीलाई निरुत्साहित गर्न उसले साढे ७ प्रतिशत कर लिन थालेको हो । तर एक वर्ष भन्दा बढी अवधिको लाभमा भने सरकारले पाँच प्रतिशत मात्रै लाभकर लिने गर्छ । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न नै सरकाले करमा छुट दिएको हो ।
उता, प्रभावित क्षेत्रका लगानीकर्तालाई आरक्षित गरिएको शेयर पनि लकिङ पिरियड तोक्ने गरिएको छ । प्रभावितलाई आरक्षित गरिएको शेयर कम्तीमा पनि तीन वर्ष राख्नुपर्ने कानुनी व्यवस्था छ । उनीहरूले दीर्घकालसम्म शेयर राखून् भन्ने उद्देश्यले नै उक्त समय तोकिएको हो ।
आरक्षणको व्यापक दुरूपयोग
दीर्घकालीन लगानी गर्न नजान्ने र शेयर बजारको उतारचढाव नबुझ्ने लगानीकर्तालाई पनि शेयर बजारको लाभ प्राप्त होस् भन्दै सामूहिक लगानी कोष स्थापना भएका हुन् । उनीहरूलाई सहज गर्न सरकारले लाभकरमा समेत छुट दिँदै आएको छ । उनीहरूले गर्ने कारोबारमा पूँजीगत लाभकर तिर्नु पर्दैन । खासगरी सरकारले साना लगानीकर्ताले शेयर बजारबाट हुने दीर्घकालीन लगानीमा राम्रो प्रतिफल प्राप्त गर्नु सकून् भन्ने उद्देश्यले उक्त छुट दिएको हो । अझै प्राथमिक शेयरमा समेत उनीहरूलाई पाँच प्रतिशतको आरक्षण दिइएको छ ।
तर जुन उद्देश्यको साथ उक्त आरक्षण दिइएको छ । म्युचुअल फण्डहरुले त्यसको व्यापक दुरुपयोग गर्दै आएका छन् । आरक्षणमा पाएको शेयर दुई दिन पनि होल्ड नगरी सबै शेयर निमिट्यान्न पार्ने गरी एकै पटक बिक्री गर्दा बजारलाई समेत प्रेसर पारिरहेको छ ।
यता, एकैपटक अत्यधिक सप्लाइ दिएकै कारण दीर्घकालसम्म शेयर राख्छु भन्ने लगानीकर्ताले समेत उचित मूल्य पाउन सकिरहेका छैनन् । किनकि सूचीकृत भएकै दिन म्युचुअल फण्डले दिएको अत्यधिक सप्लाइपछि कम्पनीको मूल्य घट्दो अवस्थामा जाने गर्छ । पछिल्लो कारोबार ट्रेन्डले त्यही देखाउँछ ।
यति बेला म्युचुअल फण्डको धेरैजसो नाफा आरक्षित शेयरको बिक्रीबाट मात्रै हुने गर्छ । उनीहरूलाई आरक्षित शेयर मात्रै बन्द गरिदिने हो भने उनीहरूले आफ्नो ल्याकतमा कमै नाफा गरेको देखिन्छ । प्राथमिक शेयरको बिक्रीबाट हुने नाफा र दोस्रो बजारमा गरेको किनबेचबाट भएको नाफा मात्रै छुट्टाएर हेर्ने हो भने आरक्षित शेयरबाट हुने नाफा उल्लेखनीय देखिन्छ । जसका लागि धितोपत्र बोर्डले आफैँले पनि अध्ययन गर्न सक्छ । आरक्षित प्राथमिक शेयर बिक्रीबाटै नाफा गर्न पल्किएका म्युचुअल फण्डहरुले रणनीतिक लगानी योजनाबाट खासै नाफा आर्जन गर्न नसकिरहेको देखाउने छ । जसले म्युचुअल फण्डको ल्याकत प्रस्ट्याउने छ ।
बोर्डको दायित्व
संस्थागत लगानीकर्ताहरू रणनीतिक लगानी योजनामा परिपक्व नभएसम्म बजार परिपक्व हुन सक्दैन । संस्थागत लगानीकर्तालाई नीतिगत रूपमै बाँधेर भए पनि धितोपत्र बोर्डले शेयर बजारलाई सट्टा बजार हुन बाट जोगाउनु पर्छ । बसीबसी दुई दिनमै तीन गुणा नाफा हुने अवस्थाको अन्त्य नगरे सम्म म्युचुअल फण्डले उच्च व्यावसायिक छवि बनाउने छैनन् ।
म्युचुअल फण्डहरुलाई थप बलियो रणनीतिक योजना बनाउन प्रोत्साहित गर्न पनि उनीहरूलाई दिएको आरक्षणको शेयर कम्तीमा पनि एक वर्ष राख्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नै पर्ने अवस्था आइसकेको छ । उनीहरूलाई आरक्षित शेयरकै भरमा मात्रै नाफा आर्जन गर्ने अवस्थालाई नै निरन्तरता दिँदै जाने हो भने त्यसले दोस्रो बजारलाई सट्टे बजार बनाउनबाट कसैले रोक्न सक्ने छैन । – मेरो लगानीबाट
Facebook Comment
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
Banner
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।
१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login