तराईबाट पूर्वी पहाड हुँदै चीनसम्म जोड्ने छोटो मार्गका रूपमा रहेको तमोर कोरिडोरमा यातायातका साधन सञ्चालनमा आउन थालेपछि स्थानीयवासी उत्साहित बनेका छन् । तमोर कोरिडोर सडकको ट्र्याक निर्माण भएपछि पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका नदी किनारका बासिन्दालाई निकै सहज भएको छ ।
पूर्वी पहाडका जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग रहेको सो सडकमा यातायातका साधन सञ्चालनमा आएसँगै दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन बजार पु¥याउन निकै सहज भएको स्थानीयवासी बताउँछन् । करिब एक दशकयता भने यो क्षेत्रमा यातायात सञ्चालन हुन थालेको हो । यातायात चल्न थालेपछि हिँडेर अन्यत्र जानुपर्ने तथा बोकेरै दैनिक उपभोग्यलगायतका सामाग्री ओसार्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय बताउँछन् । दैनिक उपभोग्य सामाग्री बजारबाट ल्याउन तथा गाउँमा उत्पादन भएको कृषिउपज बजारसम्म पु¥याउन धेरै सहज भएको धनकुटाको चौबिसे गाउँपालिका–४, कुरुलेका गोविन्द भण्डारी बताउनुहुन्छ । त्यस्तै बिरामी तथा साह्रोगाह्रो पर्दा एम्बुलेन्स गाउँमै आउन थालेपछि निकै सहज भएको उहाँको भनाइ छ ।
त्यसो त एकताका तमोर नदी किनारको बाटो हुँदै पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा तराईसँग ओहोरदोहोर गर्दथे । धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका नदी किनारका बासिन्दा यो गोरेटो प्रयोग गर्दथे । यात्रा गर्दा एकै दिनमा गन्तव्यमा नपुगिने भएकाले विभिन्न स्थानमा बास बस्थे । तमोर किनारको क्षेत्र निकै चहलपहल थियो तर मेची राजमार्ग तथा कोसी राजमार्ग बनेसँगै यो क्षेत्र सुनसान मात्र बनेन, अन्य क्षेत्रको तुलनामा दुर्गमसमेत बन्यो । फलस्वरूप सुविधाको खोजीमा यस क्षेत्रबाट हजाराँै परिवार तराई तथा सुविधायुक्त क्षेत्र बसाइ सरे तर पछिल्लो समय यो क्षेत्रले पुनर्जीवन पाएको छ । तमोर कोरिडोर निर्माण भएसँगै पुनः यो क्षेत्र सुगम बन्दै गएको छ ।
बाउबाजेदेखि आफ्ना नाति नातिनासम्मले खाद्यलगायतका विभिन्न सामग्री घण्टौँ लगाएर बोकेरै जीविका चलाएको धनकुटा बोधेका सहरमान लिम्बू बताउनुहुन्छ । “पुस्तौँपुस्ताले निकै सास्ती पायौँ तर अहिले आएर धेरै नै सहज भएको छ,” लिम्बू भन्नुहुन्छ । धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ २०६५ सालमा संविधान सभा सदस्य हेमराज भण्डारीले सांसद विकास कोषको रकमबाट तमोर कोरिडोरको काम सुरु गर्नुभएको थियो । त्यसपछि तमोर कोरिडोर राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको छ । धनकुटाको मूलघाटदेखि तमोर नदीको किनारैकिनार करिब १८० किमिको दूरीमा चीनतर्फको सीमावर्ती नाका ओलाङचुङ्गोला पर्छ । यो भारत र चीन जोड्ने सबैभन्दा मुख्य मार्ग हुने संविधान सभा सदस्य हेमराज भण्डारीको भनाइ छ । “एकतर्फबाट किमाथाङ्का खादबारी हँुदै भारत र चीन जोड्ने सडक आउँछ, अर्कोतर्फबाट ओलाङचुङ्गोला हुँदै सडक आउँछ । यसले पूर्वको भविष्य नै परिवर्तन गराउँछ,” उहाँले भन्नुभयो ।
यो सडकको अर्को विशेषता भनेको धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका जिल्ला सदरमुकामबाट यो सडक सम्म दूरीमा समेत पर्छ । प्रत्येक जिल्लाका जिल्ला सदरमुकामबाट १८ देखि २० किलोमिटरमा यो सडक पुग्न सकिन्छ । तमोर कोरिडोरको बाटो अहिले ड्रेनसहितको ग्राभेलसम्म बनेको छ । सो सडकलाई कालोपत्रे गर्न टेन्डरको सूचना प्रकाशन भइसकेको छ । पहिलो चरणमा धनकुटाको मूलघाटदेखि पाँचथरको सुभाङ्घ खोलासम्म करिब ११० किलोमिटर कालोपत्रे हुने तमोर कोरिडोर आयोजनाले जनाएको छ । कालोपत्रेको काम मङ्सिरबाट सुरु हुने जनाइएको छ ।
सडक निर्माण सम्पन्न भएपछि भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हुने तमोर कोरिडोरका आयोजना प्रमुख कुवेर नेपालीले बताउनुभयो । “अहिलेसम्म भारत र चीन जोड्ने गरी निर्माण भएका कुनै पनि उत्तर–दक्षिण आयोजना तीन सय किलोमिटरभन्दा छोटा छैनन् तर तमोर कोरिडोर मात्र एक यस्तो आयोजना हो जो तीन सय किलोमिटरभन्दा कम दूरीमै चीन र भारतलाई जोड्छ,” उहाँले भन्नुभयो । आयोजना प्रमुख नेपालीका अनुसार पाँचथरदेखि इलाम हुँदै तराई पुग्न छ घण्टा तथा ताप्लेजुङबाट आठ घण्टा लाग्ने गरेकामा सडकको ट््याक खुलेसँगै अहिले भने पाँचथरबाट तीन र ताप्लेजुङबाट चार घण्टामा तराई पुग्न सकिन्छ ।
धनकुटाको मूलघाटदेखि तमोर नदीको किनारैकिनार करिब १८० किलोमिटर तथा तथा भारतसँग जोडिएको विराटनगरको रानी भन्सारबाट चीनसँग जोडिएको ओलाङचुङ्गोला २७० किलोमिटरको दूरीमा पर्छ ।
– गोरखापत्र दैनिकबाट
You must be logged in to post a comment Login