पोखराः शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गरे । सर्जक रत्नमान गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष हुन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उनलाई भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा उदाएको धारणा राखे । लामो समयदेखि सङ्गत गरे पनि गुरुङभित्रको सिर्जनात्मक क्षमता भने आफूलाई थाहा नभएको उनको भनाइ थियो । साहित्यकार हुनु र भाषाविद् हुनु फरक कुरा भएको उनको भनाइ थियो ।
कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्रा. डा. कुसुमाकर न्यौपानेले गुरुङ, नेपाली र अङ्ग्रेजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गरे । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत् चर्चा गरिएको र दोस्रो भागमा गुरुङ वाक्यविज्ञानसम्बन्धी जानकारी राखिएको उनले बताए । कृति गुरुङ समुदायले मात्रनभई सबै नेपाली भाषाप्रेमीहरूले गौरव गर्न लायकमानक बनेको उनले प्रष्ट्याए ।
लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तक भएको अनुभव सुनाए । विशेष गरी कोरोना कालमा गरिएको अध्ययनलाई समेटेर कृति लेखनमा लगेको बताउँदै उनले अहिले वाक्य विज्ञानका विषयमा पुस्तक लेखे पनि क्रमशः ध्वनिविज्ञान, वर्णविज्ञान, अर्थविज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताए ।
You must be logged in to post a comment Login