अर्थ
विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा, १ अर्बको कारोबार हुने आयोजकको अपेक्षा
विराटनगरः फागुन २ गतेदेखि हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ ।
मेला आयोजनास्थल विराटनगरको शङ्करपुर मार्गमा बुधबार पत्रकार सम्मेलन गरी मेलामा १ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने अनुमान गरिएको बताइएको छ ।
औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन गर्नुका साथै कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादनमा जोड दिन मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ । उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्नुका साथै लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नु मेलाको उद्देश्य रहेको बताइएको छ ।
प्रदर्शनमा जुम्लाको स्याउ र मार्सी चामलका साथै हिमाली उत्पादन, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, तेह्रथुम र सङ्खुवासभाको अल्लो मुख्य आकर्षण रहने बताइएको छ । सुपारीको टपरी, अर्थोडक्स चिया, किबी तथा हस्तकलाका सामग्रीका साथै भारत, पाकिस्तान र बङ्गलादेशका सामग्रीको छुट्टै स्टल रहने मेला संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
औद्योगिक वस्तुको बजार प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना प्रवाह, नयाँ प्रविधि र उत्पादनबारे जानकारी दिन मेलाको आयोजना गरिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उनका अनुसार उपभोक्ताको चाहना र रुचिबारे जानकारी लिई नयाँ वस्तु उत्पादन गर्न मेलाले सहयोग पुग्नेछ ।
३ सय ४० स्टल रहने मेलामा ४० स्टल अन्तर्राष्ट्रिय क्षेत्रलाई छुट्याइएको छ । कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका, कृषि घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १ सय ६०, अटोमोबाइल्सका ३८, खाद्यान्नका १२ स्टल रहने बताइएको छ । सबै स्टलको बुक भइसकेको सो मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने भएका छन् ।
हेलिकोप्टरमार्फत् विराटनगरको अवलोकन तथा पाथीभरा दर्शनको व्यवस्था मिलाइनुका साथै हात्ती सवारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । फागुन २ गतेदेखि ९ दिनसम्म चल्ने मेलाको प्रवद्र्धकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् ।
मोरङ व्यापार संघ सहयोगी संस्था रहेको मेलाको मुख्य प्रायोजकमा नोबेल मेडिकल कलेज, सह प्रायोजकमा दुगड फुड एण्ड स्पाइसेस, र प्रायोजकमा टोयोटा मोटर्स, पिएलओ लुब्रिकेन्ट्सलगायतका कम्पनी रहेका छन् ।
Facebook Comment
Banner
सेयरबजारमा गिरावट, १७ अंकले घटेर साढे १४ अर्बको कारोबार
बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज साताको अन्तिम दिन समग्र बजार दोहोरो अंकले घटे पनि हाइड्रोपावर समूहका शेयरमा भने लगानीकर्ताको उत्साह देखिएको छ ।
बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३२० स्टकको १ लाख ३८ हजार ८८३ पटकको कारोबारमा १४ अर्ब ५६ करोड रुपैयाँबराबरको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर खरिदबिक्री भएको छ। गत बुधबार ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ।
कुल कारोबारमा जलविद्युत समूहका कम्पनीको कारोबार ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन कुल कारोबारमा ५८ प्रतिशत हुन आउँछ । टप गेनरमा हाइड्रोपावर कम्पनी आए पनि नेप्से परिसूचकलाई सकारात्मकतातिर डोर्याउन सकेन ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपाल लिमिटेडको कारोबार रकम ५२ करोड २९ लाख रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ भने लगानी समूह ०.०८ प्रतिशत र म्युचुएल फन्ड समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.१२ प्रतिशत, अन्य समूह १.१२ प्रतिशत, वित्त समूह १.७५ प्रतिशत र होटल तथा पर्यटन समूह १.२९ प्रतिशतले घटेको छ ।
Banner
भुजुङ्ग हाइड्रोपावर आईपीओ आवेदनको आज अन्तिम दिन
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
अब भने कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ। सो जलविद्युत आयोजनाबाट कम्पनीले २०८१ बैशाख ६ गतेदेखि नै विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
Banner
चुनाव तयारीः सरकारले १९ अर्ब २१ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्यो
सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
निर्वाचन आयोगका लेखा अधिकृत विष्णुप्रसाद भुसालका अनुसार साढे ४ अर्ब रुपैयाँभन्दा धेरै रकम मतदान र त्यससँग जोडिएका गतिविधिमा खर्च हुनेछ ।
सबैभन्दा धेरै खर्च चुनावको सुरक्षामा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार झन्डै १ लाख ५० हजार निर्वाचन प्रहरी र ७७ हजार नेपाली सेना परिचालन हुनेछन् । अघिल्लो पटक सुरक्षामा झन्डै साढे ११ अर्ब रुपैयाँ खर्च भएको थियो ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चुनावी खर्च अत्यधिक बढेको भन्दै नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ । उहाँले सुरक्षा खर्च घटाउन राजनीतिक दलले प्रमुख भूमिका खेल्नुपर्ने र विकेन्द्रीकृत तरिकाबाट चुनाव गराउन सकिने बताउनुभयो ।
यसपालि उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा जिल्लाअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म तोकिएको छ । विज्ञहरूले कतिपय उम्मेदवारहरूले तोकिएको सीमाभन्दा धेरै गुणा रकम खर्च गर्ने र यस्तो अपारदर्शी खर्च ठूलो चुनौती बनेको बताएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login