विचार
प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवमा मुख्यमन्त्रीले गरेको सम्बोधनको पूर्ण पाठ
विराटनगरः प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको छ । प्रदेश सभाको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार बोल्दै प्रदेश मुख्यमन्त्री शेरधन राईले गरेको सम्बोधनको पूर्ण पाठः
२०७४ फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट शपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज ठीक दुई वर्ष अर्थात् ७ सय ३० दिन पूरा भएको छ । प्रदेश सरकार गठन भएको २ वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एंव अभिवादन व्यक्त गर्दछु ।
नेपालको संविधान र सङ्घीयताबमोजिम सङ्घीय प्रणालीको अवलम्बन गरी प्रदेशको विकास र समृद्धिको नेतृत्व गर्ने मूल अभिभारा हाम्रो काँधमा दिनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पुनः हार्दिक आभार सहित अभिवादन व्यक्त गर्दछु । यस ऐतिहासिक कार्यक्रमको अवसरमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यानको आहुति दिने ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै ती आन्दोलनमा घाइते अपाङ्ग र बेपत्ता हुने सम्पूर्ण योद्धा र परिवारजनले गर्नुभएको योगदानको स्मरण गर्दै हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।
दाजुभाइ तथा दिदी बहिनीहरु
नेपालको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएर संविधान सभाबाट जारी भएको संविधानबमोजिम हामीले पहिलो पटक संघीय ढाँचामा आधारित शासन प्रणाली अबलम्वन गरेसँगै सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुगेको छ, अर्थात् जनताको घरदैलोसम्म पुगेको छ । यसरी यही ढाँचामा आधारित संघीय प्रणालीको एउटा प्रमुख मेरुदण्डको रुपमा प्रदेश सरकार गठन भएको कुरा सर्वविदितै छ ।
मैले स्मरण गरिरहेको छु, दुई वर्ष अघि जिम्मेवारी सम्हालिरहँदा आजका आधार संरचनाहरु केही थिएनन् । अस्थायी राजधानी तोकिएको थियो तर बस्ने ठाउँ थिएन । जनताका असीमित चाहनाहरुका बीच हामी निर्वाचित भएर आएका थियौं । तर हामीसँग बस्ने ठाउँ र काम गर्ने जनशक्ति थिएन, कानुन, नियमावली, कार्यविधिहरु बनेका थिएनन् । हाम्रा सामुन्नेमा धेरै चुनौती, अप्ठ्यारा र असहजताहरु थिए । त्यसका बावजुद स्वाभाविक गति र सिलसिलामा हिँडेर संविधान र संघीयता कार्यान्वयन गर्नका लागि अत्यावश्यक आधारहरु तयार गर्दै अगाडि बढ्नु हाम्रा लागि अवसर थियो ।
हामीले यो दुई वर्षलाई त्यही महत्वपूर्ण आधार तयार गर्ने अवसरको रुपमा भरपुर प्रयोग गयौं । हामी कतै चुकेनौ, कही झुकेनौं, गलत गरेनौं । अनेक अप्ठ्यारा र असहजताका बाबजुद प्रदेश सरकार सही बाटोमा, सकारात्मक उपलव्धिहरुका साथ यहाँसम्म आइपुगेको कुरा यहाँहरुबीच सगर्व राख्न चाहन्छु । यो दुई वर्षे कार्यकाल मूलतः संविधान र संघीयता कार्यान्वयनको आधार तयार गर्ने महत्वपूर्ण वर्षको रुपमा रहेको मैले ठानेको छु ।
संघीय प्रणाली हाम्रा लागि नयाँ प्रणाली थियो, नयाँ बाटो थियो, अझ प्रदेश संरचना त हाम्रो परिवेशमा बिल्कुलै नयाँ अभ्यास, अनुभव र प्रयोग थियो । संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो । प्रदेश संरचनालाई बलियो वनाउँदा मात्र संघीयता प्रभावकारी हुन सक्दछ भन्ने मर्म र बुझाइसहित प्रदेश सरकार प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्ने कुरामा केन्द्रित रहेको कुरा यहाँहरुबीच राख्न चाहन्छु । हामीले आत्मसात गरेको नयाँ संघीय प्रणालीको कार्यान्वयन, प्रयोग र अभ्यासमा समय लाग्छ नै । हामीले नयाँ थिति र प्रणाली बसाल्नुपर्नेछ । हामीले तयार गर्ने आधार र बसाल्ने थिति अनि प्रणाली भनेको आगामी ५ वर्षको लागि मात्र नभई सूदुर भविष्यसम्मको आधारशिला पनि हो ।
दाजुभाइ तथा दिदी बहिनीहरु
जनताका सबै अपेक्षाहरु सम्बोधन हुन यो दुई वर्षका ७ सय ३० दिनमा सम्भव थिएन । तर संघीयताको कार्यान्वयनमा ठोस उपलब्धिहरुका साथ प्राप्त सीमित साधन स्रोतहरुको प्रयोग गरी जनताका आकांक्षाहरुको सम्बोधन गर्दै अगाडि बढीराखेका छौं । संघीयता कार्यान्वयनको सिलसिलासँगै त्यसको वास्तविक मर्म र भावना प्रस्तुत गर्दै प्रदेश सरकारको तर्फबाट हामीले कम्तीमा जनताका न्यूनतम आकांक्षाहरुलाई सम्बोधन गर्दै एउटा दरिलो आशा, विश्वास र भरोसा जगाउन सफल भएका छौं । यो उल्लेख्य र महत्वपूर्ण उपलब्धि हो भन्ने कुरा राख्न चाहन्छु ।
हामीले यो दुई वर्षमा संघीयता र संविधान कार्यान्वयनका लागि प्रदेशको क्षेत्राधिकारका विषयमा ३९ वटा कानुन तर्जुमा गरेका छौं । कानुन कार्यान्वयनमा सघाउ पु¥याउन विभिन्न नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र गठन आदेशहरुको तर्जुमा भएको छ ।
प्रदेशसभाबाट हाम्रो प्रदेशको राजधानी सर्वसम्मतिमा तोक्ने काम सम्पन्न भएको छ । म विशेष गरेर प्रदेश सभा माननीय सभामुख, उपसभामुख, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष, प्रमुख विपक्षी दल, अन्य सबै दलसँग सम्बद्ध माननीय सदस्यहरु, आम नागरिक समाज, सञ्चार जगत सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।
सहमति र सहकार्यको अनुपम नमूना प्रदेश नं १ को प्रदेश सभाले प्रस्तुत गरेको छ । आगामी दिनमा पनि प्रदेशको नामङ्कन लगायत प्रदेशको विकास र समृद्धिमा त्यही कुराको अपेक्षा राखेको छु ।
दाजुभाइ तथा दिदी बहिनीहरु
यसबीचमा संघ र स्थानीय तहसँग सहकारितामा आधारित सह–सम्बन्ध कायम गर्ने काम भएको छ । अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएको सहभागिताबाट आपसी समन्वय र सहयोगका विषयमा महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । अन्तरतह वित्त व्यवस्थापन तथा हस्तान्तरण र राजस्व सङ्कलन तथा ब्यवस्थापनजस्ता पक्षमा आपसी सहयोग र समझदारी कायम गर्न मद्दत पुगेको छ ।
संवैधानिक र कानुनी प्रबन्ध अनुरुप यस अवधिमा प्रदेश समन्वय परिषद्को तीन वटा बैठकहरु सम्पन्न गरेर महत्वपूर्ण निर्णयहरुका साथ स्थानीय तहसँगको सम्बन्ध, समन्वय र सहकार्यलाई सुदृढ तुल्याउने अधिकतम प्रयास हामीले गरेका छौं । उपरोक्त बैठकहरुले विद्यमान असहजता र समस्याहरुको समाधानमा समेत महत्वपूर्ण भूमिका खेलेको मैले महसुस गरेको छु ।
हामीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को दीर्घकालीन सोच र उद्देश्यसहित प्रथम आवधिक योजना तर्जुमा गरी सार्वजनिक गर्न सफल भएका छौं । प्रथम आवधिक योजनासँगै विकास आयोजनाको प्राथमिकीकरण गरी खर्चको मितव्ययीता र प्रभावकारिता बढाउन मध्यमकालीन खर्च संरचना लागू गरिएको छ । सँगसँगै व्यवस्थित एवं योजनाबद्ध र आधुनिक विकासका लागि योजना छनोट प्रणालीको कार्यविधि तर्जुमा गरी आगामी आर्थिक वर्षबाट सोही कार्यविधिमा आधारित भएर कार्यक्रम तर्जुमा, आयोजनाको छनोट तथा बजेट विनियोजन गरिने कुरा यहाँहरुबीचमा राख्न चाहन्छु ।
प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन आयोजना बैंक तयार गरी पहिलो चरणमा सूचीकृत २६ परियोजनाहरुलाई समावेश गरी अगाडि बढाउने तयारीका साथ आगामी ०७७ बैशाखमा लगानी सम्मेलन गर्ने तयारी सरकारले गरिरहेको कुरा पनि जानकारी गराउँदछु ।
प्रदेशको तीव्रतर र व्यवस्थित आर्थिक विकासको लागि प्रदेश योजना आयोग र प्रदेश लगानी बोर्ड गठन गरिएको छ । प्रदेशको प्रशासनिक पुनर्संरचना गरी प्रादेशिक आवश्यकता अनुसारको प्रशासन निर्माण गर्ने उद्देश्यले सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण (ओ एण्ड एम सर्र्भे) गरी प्रतिवेदन तयार गरिएको छ । यसबीचमा प्रदेश लोकसेवा आयोग समेत गठन भइसकेको छ । यसबाट प्रदेशभित्रका कर्मचारी पदपूर्तिको बाटो खुला भई प्रशासनिक संघीयतालाई बलियो बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।
दाजुभाइ तथा दिदीबहिनीहरु
हाम्रा लागि यो दुई वर्ष आधार तयार गर्ने वर्ष मात्रै रहेन । अर्थात् त्यत्तिमा मात्र सीमित रहेर बसेनौं । प्रदेश सरकारले स्पष्ट दृष्टिकोण र अवधारणाहरु सहित विकासका खाकाहरु अगाडि सारेको छ । प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना बनाई सार्वजनिक गरिसकेका छौं । साना सिंचाई, शहरी विकास, पर्यटन विकास लगायतको १० वर्षे गुरुयोजनाले अन्तिम रुप लिन लागेको छ । प्रादेशिक निर्वाचन क्षेत्रमा सडकहरु निर्माण भइरहेका छन् । हामीले समानुपातिक र सन्तुलित ढङ्गबाट विकासलाई मूर्त रुप दिन सफल भएका छौं ।

यसबीचमा भइरहेका कामहरुको संक्षिप्त चर्चा गर्ने हो भने पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १ सय २९ किलोमिटर सडक ग्राभेल १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १–१ वटा गरी जम्मा ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामीण सडक, १ सय २६ वटा मोटरेवल पुल र १ सय १४ वटा झोलुङ्गे पुल धमाधम निर्माण हुँदैछन् ।
प्रदेशका खेती योग्य जमिनहरुमा सिंचाई पु¥याउन १ सय २९ वटा योजनाहरु सम्पन्न भएका छन् भने ६ सय ३१ वटा योजनाहरु निर्माणाधीन छन् । खानेपानीका आयोजनाहरु १ सय १० वटा सम्पन्न भएका छन् भने ९ सय ४९ वटा आयोजनाहरु बनिरहेका छन् । प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि ‘जनता आवास कार्यक्रम’अन्तर्गत १ सय ७१ वटा घर निर्माण सम्पन्न भएका छन् ।
त्यसैगरी मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना, जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत १० लाख भन्दा बढी घरधुरी संख्यामा स्टिकर टाँस अभियान, परियोजना बैंकको स्थापना, म अघि बढछु (सगरमाथा टिन्स क्लब) अभियानमा तीव्रता, डिजिटल साक्षरता कार्यक्रम र अनलाईन शिक्षाको शुरुवात, समृद्विका लागि एकीकृत जैविक स्रोत नामक २ सय ५० जना स्वेदशी तथा विदेशी बैज्ञानिकहरुको सहभागितामा वैज्ञानिक सम्मेलन सम्पन्न भएका छन् ।
यही बीचमा मिल्क होलिडेको अन्त्य गरिएको छ । इलामको फिक्कल कन्याम सूर्योदय नगरपालिकामा एक टि टेस्टिङ एण्ड प्रोमोशन सेन्टर निर्माण कार्य समेत अगाडि बढेको छ । कोशी रिफ्रेसमेन्ट सेन्टरको डिपीआर तयार भई निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम कार्यान्वयनको तयारीमा रहेको समेत जानकारी गराउँदछु । सँगसँगै खोज तथा अनुसन्धानमा आधारित योजनाबद्ध आधुनिक तथा दिगो विकासका लागि एक प्रादेशिक अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया समेत अगाडि बढाइएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रदेशमा भव्य शुभारम्भ गरिएको छ ।
हामीले विश्व कीर्तिमानी हिमाल आरोही कामिरीता शेर्पा, राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), विश्व अल्ट्रा धाविका मीरा राईलाई सम्मान गरेका छौं । त्यसैगरी ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान, आठौं साफ महिला फुटबल प्रतियोगिताका उपवितेजाहरुलाई पुरस्कार तथा सम्मान, १३ औै साग विजेता प्रदेशका खेलाडीहरुलाई सम्मान र पुरस्कार, छिन्ताङ घटनाका शहीद परिवारलाई राहत दिनेजस्ता महत्वपूर्ण निर्णय र कार्यहरु यही अवधिमा भएका छन् ।
हाम्रो प्रदेशमा नेपालको विकास साझेदारहरु, निजी क्षेत्रका लगानीकर्ताहरुको ध्यान आकृष्ट गर्न हामी सफल भएका छौं । लगानीका दृष्टिले प्रदेश नं. १ अनुकूल हो भन्ने सन्देश दिने कुरामा हामी सफल भएका छौं । संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीको रुपमा हामीले पहिलो पटक एक अर्ब रुपैयाँ बराबरको वैदेशिक अनुदान सहयोग लिन सफल भएका छौं । उक्त वैदेशिक अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा नेपालको इतिहासमै पहिलो पटक देशको राजधानी काठमाडौं बाहिर यस प्रदेशको राजधानी विराटनगरमा नेपाल सरकार र स्वीस सरकारबीच हस्ताक्षर गराउन हामी सफल भएका छौं । प्रदेश सरकारको प्रस्तावमा प्रदेश सहयोग कार्यक्रम अन्तर्गत संघीय सरकारको अनुमति लिएर हामीले स्वीटजरल्याण्ड सरकारबाट एक अर्ब सहयोग प्राप्त गरेका छौ ।
दाजुभाइ तथा दिदीबहिनीहरु
गत वर्ष यही मञ्चमा उभिएर बोलिरहँदा हाम्रो विकास खर्च अत्यन्त न्यून थियो । त्यतिबेला ५ प्रतिशतको हाराहारीमा मात्र विकास खर्च भएको थियो । तर ठीक आज हाम्रो विकास खर्च २५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क राख्न पाउँदा मलाई खुशी लागेको छ । हामी सबैभन्दा धेरै पूँजीगत खर्च गर्न सक्ने सरकार बन्न पुगेका छौं । हामीले यसलाई अझ प्रभावकारी बनाउने ढङ्गले तीव्र गतिले कामलाई अगाडि बढाइरहेका छौं ।
हामी निष्ठापूर्वक काम गरिरहेका छौं । सुशासनका सन्दर्भमा हामीले थालेका प्रयास चर्चायोग्य र प्रशंसनीय छन् । प्रदेश सरकारले लिएको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको कठोर र निर्ममतापूर्वक अगाडि बढ्ने नीतिलाई सबै क्षेत्रबाट गरिएको प्रशंसा र सकारात्मक पृष्ठपोषणले हामी उत्साहित भएका छौं । यसमा यहाँहरुको पूर्ण सहयोगको मैले अपेक्षा राखेको छु । सँगसँगै संविधान, संघीयताको मर्म र भावनाविपरीत चल्ने, पुरानै सोच, शैली र तरिकाबाट काम गर्ने, जनताको करबाट पारिश्रमिक वा सेवा सुविधा लिएर जनतालाई नै ठग्ने कुरा कुनै पनि बहानामा प्रदेश सरकारलाई स्वीकार्य नहुने र यस मामिलामा कठोर हुने कुरा समेत स्पष्ट ढङ्गले म राख्न चाहन्छु ।
दाजुभाइ तथा दिदी बहिनीहरु
हामी विकास र सुशासनमा जनताले आशा र भरोसा गर्न सक्ने निकायको रुपमा प्रदेशलाई स्थापित गराउन चाहन्छौं । वितेका दुई वर्ष हामीले जे जति उपलव्धि हासिल गर्न सक्यौ त्यसैका आधारमा आगामी दिनहरुमा विकास, सामाजिक सुरक्षा, समावेशीकरण लगायत प्रदेशका लक्ष्यहरु हासिल हुने विश्वास लिएको छु । आगामी दिन र वर्षहरु उपलब्धी र परिणामका बर्षहरु हुनेछन् । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।
यसरी बिल्कुल नयाँ र पहिलो संरचनाका रुपमा वनेको प्रदेश सरकारले दुई वर्षको अवधि पूरा गर्दैै गर्दा यतिबेला विभिन्न कोणबाट समीक्षा र मूल्याङ्कन भइराखेको छ र त्यो हुनैपर्दछ । स्वस्थ एवं वस्तुनिष्ठ समीक्षा र मूल्याङ्कनले नै आगामी दिनमा अगाडि बढ्नको लागि सही आधार र मार्गदर्शन प्रदान गर्न सक्दछ भन्ने म ठान्दछु । त्यसैले स्वस्थ एवं वस्तुनिष्ठ समीक्षाका साथ महत्वपूर्ण पृष्ठपोषणको लागि यहाँहरुसमक्ष हार्दिक अपिल गर्न चाहन्छु ।
विकास र समृद्वि हासिल गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको प्रदेश सरकारलाई सबै क्षेत्रको सकारात्मक साथ र सहयोग प्राप्त भएको छ । आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त हुने अपेक्षा राखेको छु । प्रदेश सरकारलाई सहयोग पु¥याउनुहुने प्रदेश सभा, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक क्षेत्र, निजीक्षेत्र, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चार क्षेत्र र आम प्रदेशवासी दाजुभाइ, दिदी बहिनीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
Facebook Comment
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई ह्वीलचेयर वितरण
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले इन्द्रपुरमा यस वर्ष फरक अनुभूति ल्यायो। सामान्य रूपमा कार्यक्रम, भाषण वा प्रतीकात्मक गतिविधिमा सीमित हुने दिन यसपटक इन्द्रपुर जेसीजले प्रत्यक्ष प्रभाव पार्ने कामबाट विशेष बनायो—नगरका पाँच जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपयोगी र जीवन–सहज बनाउने ह्वीलचेयर प्रदान गरेर।
कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज २०२५ का अध्यक्ष आकाश दुलालका अनुसार, “ह्वीलचेयर केवल सहयोग होइन, दैनिक बाँचाइमा आवश्यक स्वतन्त्रताको आधार हो।” दुलालले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र सुरक्षित जीवनयापन सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।
ह्वीलचेयर प्राप्त गर्नेहरूमध्ये सुन्दरहरैंचा–११ की प्रशंसा श्रेष्ठ, वडा नम्बर १० का सुसन लिम्बू र कालिमान लिम्बू, वडा नम्बर ९ का अमरबहादुर राई, र वडा नम्बर १ का गोपालबहादुर कार्की थिए। उनीहरूका परिवार र आफन्तका अनुहारमा देखिएको सन्तुष्टि र राहतले कार्यक्रमको उद्देश्य झन् स्पष्ट बनाइरहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि, अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचाकी अध्यक्ष मीना आचार्य, अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायको जिम्मेवारीका रूपमा हेर्नुपर्नेमा जोड दिँदै यस्तो सहयोग निरन्तर हुनुपर्ने बताइन्।
इन्द्रपुर जेसीजको आयोजनामा र इन्द्रपुर जुनियर जेसीजको सह–आयोजनामा भइरहेको ‘जेसीज सप्ताह’अन्तर्गत यो कार्यक्रम विशेष आकर्षण बन्न पुग्यो। कार्यक्रममा महासचिव अजित बान्तवाले सञ्चालन सम्हालेका थिए भने कार्यक्रम संयोजक पार्वती गच्छदारले ह्वीलचेयर वितरण सप्ताहकै महत्वपूर्ण उद्देश्य भएको बताइन्।
Banner
सर्टको उत्कृष्ट खेलमा लुम्बिनीको शानदार जित, विराटनगर फेरि पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।
लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो । यस जितमा लुम्बिनीका ओपनर डीआर्सी सर्टको ब्याटिङ निर्णायक बन्यो । उनले सिजनको व्यक्तिगत अर्धशतक प्रहार गर्दै ४४ बलमा ५७ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिके ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login