Connect with us
Advertisement

प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवमा मुख्यमन्त्रीले गरेको सम्बोधनको पूर्ण पाठ

Published

on

विराटनगरः प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको छ । प्रदेश सभाको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार बोल्दै प्रदेश मुख्यमन्त्री शेरधन राईले गरेको सम्बोधनको पूर्ण पाठः

२०७४ फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट शपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज ठीक दुई वर्ष अर्थात् ७ सय ३० दिन पूरा भएको छ । प्रदेश सरकार गठन भएको २ वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एंव अभिवादन व्यक्त गर्दछु ।

नेपालको संविधान र सङ्घीयताबमोजिम सङ्घीय प्रणालीको अवलम्बन गरी प्रदेशको विकास र समृद्धिको नेतृत्व गर्ने मूल अभिभारा हाम्रो काँधमा दिनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पुनः हार्दिक आभार सहित अभिवादन व्यक्त गर्दछु । यस ऐतिहासिक कार्यक्रमको अवसरमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यानको आहुति दिने ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै ती आन्दोलनमा घाइते अपाङ्ग र बेपत्ता हुने सम्पूर्ण योद्धा र परिवारजनले गर्नुभएको योगदानको स्मरण गर्दै हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

दाजुभाइ तथा दिदी बहिनीहरु
नेपालको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएर संविधान सभाबाट जारी भएको संविधानबमोजिम हामीले पहिलो पटक संघीय ढाँचामा आधारित शासन प्रणाली अबलम्वन गरेसँगै सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुगेको छ, अर्थात् जनताको घरदैलोसम्म पुगेको छ । यसरी यही ढाँचामा आधारित संघीय प्रणालीको एउटा प्रमुख मेरुदण्डको रुपमा प्रदेश सरकार गठन भएको कुरा सर्वविदितै छ ।

मैले स्मरण गरिरहेको छु, दुई वर्ष अघि जिम्मेवारी सम्हालिरहँदा आजका आधार संरचनाहरु केही थिएनन् । अस्थायी राजधानी तोकिएको थियो तर बस्ने ठाउँ थिएन । जनताका असीमित चाहनाहरुका बीच हामी निर्वाचित भएर आएका थियौं । तर हामीसँग बस्ने ठाउँ र काम गर्ने जनशक्ति थिएन, कानुन, नियमावली, कार्यविधिहरु बनेका थिएनन् । हाम्रा सामुन्नेमा धेरै चुनौती, अप्ठ्यारा र असहजताहरु थिए । त्यसका बावजुद स्वाभाविक गति र सिलसिलामा हिँडेर संविधान र संघीयता कार्यान्वयन गर्नका लागि अत्यावश्यक आधारहरु तयार गर्दै अगाडि बढ्नु हाम्रा लागि अवसर थियो ।

हामीले यो दुई वर्षलाई त्यही महत्वपूर्ण आधार तयार गर्ने अवसरको रुपमा भरपुर प्रयोग गयौं । हामी कतै चुकेनौ, कही झुकेनौं, गलत गरेनौं । अनेक अप्ठ्यारा र असहजताका बाबजुद प्रदेश सरकार सही बाटोमा, सकारात्मक उपलव्धिहरुका साथ यहाँसम्म आइपुगेको कुरा यहाँहरुबीच सगर्व राख्न चाहन्छु । यो दुई वर्षे कार्यकाल मूलतः संविधान र संघीयता कार्यान्वयनको आधार तयार गर्ने महत्वपूर्ण वर्षको रुपमा रहेको मैले ठानेको छु ।
संघीय प्रणाली हाम्रा लागि नयाँ प्रणाली थियो, नयाँ बाटो थियो, अझ प्रदेश संरचना त हाम्रो परिवेशमा बिल्कुलै नयाँ अभ्यास, अनुभव र प्रयोग थियो । संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो । प्रदेश संरचनालाई बलियो वनाउँदा मात्र संघीयता प्रभावकारी हुन सक्दछ भन्ने मर्म र बुझाइसहित प्रदेश सरकार प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्ने कुरामा केन्द्रित रहेको कुरा यहाँहरुबीच राख्न चाहन्छु । हामीले आत्मसात गरेको नयाँ संघीय प्रणालीको कार्यान्वयन, प्रयोग र अभ्यासमा समय लाग्छ नै । हामीले नयाँ थिति र प्रणाली बसाल्नुपर्नेछ । हामीले तयार गर्ने आधार र बसाल्ने थिति अनि प्रणाली भनेको आगामी ५ वर्षको लागि मात्र नभई सूदुर भविष्यसम्मको आधारशिला पनि हो ।

दाजुभाइ तथा दिदी बहिनीहरु
जनताका सबै अपेक्षाहरु सम्बोधन हुन यो दुई वर्षका ७ सय ३० दिनमा सम्भव थिएन । तर संघीयताको कार्यान्वयनमा ठोस उपलब्धिहरुका साथ प्राप्त सीमित साधन स्रोतहरुको प्रयोग गरी जनताका आकांक्षाहरुको सम्बोधन गर्दै अगाडि बढीराखेका छौं । संघीयता कार्यान्वयनको सिलसिलासँगै त्यसको वास्तविक मर्म र भावना प्रस्तुत गर्दै प्रदेश सरकारको तर्फबाट हामीले कम्तीमा जनताका न्यूनतम आकांक्षाहरुलाई सम्बोधन गर्दै एउटा दरिलो आशा, विश्वास र भरोसा जगाउन सफल भएका छौं । यो उल्लेख्य र महत्वपूर्ण उपलब्धि हो भन्ने कुरा राख्न चाहन्छु ।
हामीले यो दुई वर्षमा संघीयता र संविधान कार्यान्वयनका लागि प्रदेशको क्षेत्राधिकारका विषयमा ३९ वटा कानुन तर्जुमा गरेका छौं । कानुन कार्यान्वयनमा सघाउ पु¥याउन विभिन्न नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र गठन आदेशहरुको तर्जुमा भएको छ ।

प्रदेशसभाबाट हाम्रो प्रदेशको राजधानी सर्वसम्मतिमा तोक्ने काम सम्पन्न भएको छ । म विशेष गरेर प्रदेश सभा माननीय सभामुख, उपसभामुख, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष, प्रमुख विपक्षी दल, अन्य सबै दलसँग सम्बद्ध माननीय सदस्यहरु, आम नागरिक समाज, सञ्चार जगत सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।

सहमति र सहकार्यको अनुपम नमूना प्रदेश नं १ को प्रदेश सभाले प्रस्तुत गरेको छ । आगामी दिनमा पनि प्रदेशको नामङ्कन लगायत प्रदेशको विकास र समृद्धिमा त्यही कुराको अपेक्षा राखेको छु ।

दाजुभाइ तथा दिदी बहिनीहरु
यसबीचमा संघ र स्थानीय तहसँग सहकारितामा आधारित सह–सम्बन्ध कायम गर्ने काम भएको छ । अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएको सहभागिताबाट आपसी समन्वय र सहयोगका विषयमा महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । अन्तरतह वित्त व्यवस्थापन तथा हस्तान्तरण र राजस्व सङ्कलन तथा ब्यवस्थापनजस्ता पक्षमा आपसी सहयोग र समझदारी कायम गर्न मद्दत पुगेको छ ।

संवैधानिक र कानुनी प्रबन्ध अनुरुप यस अवधिमा प्रदेश समन्वय परिषद्को तीन वटा बैठकहरु सम्पन्न गरेर महत्वपूर्ण निर्णयहरुका साथ स्थानीय तहसँगको सम्बन्ध, समन्वय र सहकार्यलाई सुदृढ तुल्याउने अधिकतम प्रयास हामीले गरेका छौं । उपरोक्त बैठकहरुले विद्यमान असहजता र समस्याहरुको समाधानमा समेत महत्वपूर्ण भूमिका खेलेको मैले महसुस गरेको छु ।

हामीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को दीर्घकालीन सोच र उद्देश्यसहित प्रथम आवधिक योजना तर्जुमा गरी सार्वजनिक गर्न सफल भएका छौं । प्रथम आवधिक योजनासँगै विकास आयोजनाको प्राथमिकीकरण गरी खर्चको मितव्ययीता र प्रभावकारिता बढाउन मध्यमकालीन खर्च संरचना लागू गरिएको छ । सँगसँगै व्यवस्थित एवं योजनाबद्ध र आधुनिक विकासका लागि योजना छनोट प्रणालीको कार्यविधि तर्जुमा गरी आगामी आर्थिक वर्षबाट सोही कार्यविधिमा आधारित भएर कार्यक्रम तर्जुमा, आयोजनाको छनोट तथा बजेट विनियोजन गरिने कुरा यहाँहरुबीचमा राख्न चाहन्छु ।

प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन आयोजना बैंक तयार गरी पहिलो चरणमा सूचीकृत २६ परियोजनाहरुलाई समावेश गरी अगाडि बढाउने तयारीका साथ आगामी ०७७ बैशाखमा लगानी सम्मेलन गर्ने तयारी सरकारले गरिरहेको कुरा पनि जानकारी गराउँदछु ।

प्रदेशको तीव्रतर र व्यवस्थित आर्थिक विकासको लागि प्रदेश योजना आयोग र प्रदेश लगानी बोर्ड गठन गरिएको छ । प्रदेशको प्रशासनिक पुनर्संरचना गरी प्रादेशिक आवश्यकता अनुसारको प्रशासन निर्माण गर्ने उद्देश्यले सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण (ओ एण्ड एम सर्र्भे) गरी प्रतिवेदन तयार गरिएको छ । यसबीचमा प्रदेश लोकसेवा आयोग समेत गठन भइसकेको छ । यसबाट प्रदेशभित्रका कर्मचारी पदपूर्तिको बाटो खुला भई प्रशासनिक संघीयतालाई बलियो बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

दाजुभाइ तथा दिदीबहिनीहरु
हाम्रा लागि यो दुई वर्ष आधार तयार गर्ने वर्ष मात्रै रहेन । अर्थात् त्यत्तिमा मात्र सीमित रहेर बसेनौं । प्रदेश सरकारले स्पष्ट दृष्टिकोण र अवधारणाहरु सहित विकासका खाकाहरु अगाडि सारेको छ । प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना बनाई सार्वजनिक गरिसकेका छौं । साना सिंचाई, शहरी विकास, पर्यटन विकास लगायतको १० वर्षे गुरुयोजनाले अन्तिम रुप लिन लागेको छ । प्रादेशिक निर्वाचन क्षेत्रमा सडकहरु निर्माण भइरहेका छन् । हामीले समानुपातिक र सन्तुलित ढङ्गबाट विकासलाई मूर्त रुप दिन सफल भएका छौं ।

यसबीचमा भइरहेका कामहरुको संक्षिप्त चर्चा गर्ने हो भने पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १ सय २९ किलोमिटर सडक ग्राभेल १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १–१ वटा गरी जम्मा ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामीण सडक, १ सय २६ वटा मोटरेवल पुल र १ सय १४ वटा झोलुङ्गे पुल धमाधम निर्माण हुँदैछन् ।

प्रदेशका खेती योग्य जमिनहरुमा सिंचाई पु¥याउन १ सय २९ वटा योजनाहरु सम्पन्न भएका छन् भने ६ सय ३१ वटा योजनाहरु निर्माणाधीन छन् । खानेपानीका आयोजनाहरु १ सय १० वटा सम्पन्न भएका छन् भने ९ सय ४९ वटा आयोजनाहरु बनिरहेका छन् । प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि ‘जनता आवास कार्यक्रम’अन्तर्गत १ सय ७१ वटा घर निर्माण सम्पन्न भएका छन् ।

त्यसैगरी मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना, जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत १० लाख भन्दा बढी घरधुरी संख्यामा स्टिकर टाँस अभियान, परियोजना बैंकको स्थापना, म अघि बढछु (सगरमाथा टिन्स क्लब) अभियानमा तीव्रता, डिजिटल साक्षरता कार्यक्रम र अनलाईन शिक्षाको शुरुवात, समृद्विका लागि एकीकृत जैविक स्रोत नामक २ सय ५० जना स्वेदशी तथा विदेशी बैज्ञानिकहरुको सहभागितामा वैज्ञानिक सम्मेलन सम्पन्न भएका छन् ।

यही बीचमा मिल्क होलिडेको अन्त्य गरिएको छ । इलामको फिक्कल कन्याम सूर्योदय नगरपालिकामा एक टि टेस्टिङ एण्ड प्रोमोशन सेन्टर निर्माण कार्य समेत अगाडि बढेको छ । कोशी रिफ्रेसमेन्ट सेन्टरको डिपीआर तयार भई निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम कार्यान्वयनको तयारीमा रहेको समेत जानकारी गराउँदछु । सँगसँगै खोज तथा अनुसन्धानमा आधारित योजनाबद्ध आधुनिक तथा दिगो विकासका लागि एक प्रादेशिक अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया समेत अगाडि बढाइएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रदेशमा भव्य शुभारम्भ गरिएको छ ।

हामीले विश्व कीर्तिमानी हिमाल आरोही कामिरीता शेर्पा, राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), विश्व अल्ट्रा धाविका मीरा राईलाई सम्मान गरेका छौं । त्यसैगरी ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान, आठौं साफ महिला फुटबल प्रतियोगिताका उपवितेजाहरुलाई पुरस्कार तथा सम्मान, १३ औै साग विजेता प्रदेशका खेलाडीहरुलाई सम्मान र पुरस्कार, छिन्ताङ घटनाका शहीद परिवारलाई राहत दिनेजस्ता महत्वपूर्ण निर्णय र कार्यहरु यही अवधिमा भएका छन् ।

हाम्रो प्रदेशमा नेपालको विकास साझेदारहरु, निजी क्षेत्रका लगानीकर्ताहरुको ध्यान आकृष्ट गर्न हामी सफल भएका छौं । लगानीका दृष्टिले प्रदेश नं. १ अनुकूल हो भन्ने सन्देश दिने कुरामा हामी सफल भएका छौं । संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीको रुपमा हामीले पहिलो पटक एक अर्ब रुपैयाँ बराबरको वैदेशिक अनुदान सहयोग लिन सफल भएका छौं । उक्त वैदेशिक अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा नेपालको इतिहासमै पहिलो पटक देशको राजधानी काठमाडौं बाहिर यस प्रदेशको राजधानी विराटनगरमा नेपाल सरकार र स्वीस सरकारबीच हस्ताक्षर गराउन हामी सफल भएका छौं । प्रदेश सरकारको प्रस्तावमा प्रदेश सहयोग कार्यक्रम अन्तर्गत संघीय सरकारको अनुमति लिएर हामीले स्वीटजरल्याण्ड सरकारबाट एक अर्ब सहयोग प्राप्त गरेका छौ ।

दाजुभाइ तथा दिदीबहिनीहरु
गत वर्ष यही मञ्चमा उभिएर बोलिरहँदा हाम्रो विकास खर्च अत्यन्त न्यून थियो । त्यतिबेला ५ प्रतिशतको हाराहारीमा मात्र विकास खर्च भएको थियो । तर ठीक आज हाम्रो विकास खर्च २५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क राख्न पाउँदा मलाई खुशी लागेको छ । हामी सबैभन्दा धेरै पूँजीगत खर्च गर्न सक्ने सरकार बन्न पुगेका छौं । हामीले यसलाई अझ प्रभावकारी बनाउने ढङ्गले तीव्र गतिले कामलाई अगाडि बढाइरहेका छौं ।

हामी निष्ठापूर्वक काम गरिरहेका छौं । सुशासनका सन्दर्भमा हामीले थालेका प्रयास चर्चायोग्य र प्रशंसनीय छन् । प्रदेश सरकारले लिएको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको कठोर र निर्ममतापूर्वक अगाडि बढ्ने नीतिलाई सबै क्षेत्रबाट गरिएको प्रशंसा र सकारात्मक पृष्ठपोषणले हामी उत्साहित भएका छौं । यसमा यहाँहरुको पूर्ण सहयोगको मैले अपेक्षा राखेको छु । सँगसँगै संविधान, संघीयताको मर्म र भावनाविपरीत चल्ने, पुरानै सोच, शैली र तरिकाबाट काम गर्ने, जनताको करबाट पारिश्रमिक वा सेवा सुविधा लिएर जनतालाई नै ठग्ने कुरा कुनै पनि बहानामा प्रदेश सरकारलाई स्वीकार्य नहुने र यस मामिलामा कठोर हुने कुरा समेत स्पष्ट ढङ्गले म राख्न चाहन्छु ।

दाजुभाइ तथा दिदी बहिनीहरु
हामी विकास र सुशासनमा जनताले आशा र भरोसा गर्न सक्ने निकायको रुपमा प्रदेशलाई स्थापित गराउन चाहन्छौं । वितेका दुई वर्ष हामीले जे जति उपलव्धि हासिल गर्न सक्यौ त्यसैका आधारमा आगामी दिनहरुमा विकास, सामाजिक सुरक्षा, समावेशीकरण लगायत प्रदेशका लक्ष्यहरु हासिल हुने विश्वास लिएको छु । आगामी दिन र वर्षहरु उपलब्धी र परिणामका बर्षहरु हुनेछन् । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।

यसरी बिल्कुल नयाँ र पहिलो संरचनाका रुपमा वनेको प्रदेश सरकारले दुई वर्षको अवधि पूरा गर्दैै गर्दा यतिबेला विभिन्न कोणबाट समीक्षा र मूल्याङ्कन भइराखेको छ र त्यो हुनैपर्दछ । स्वस्थ एवं वस्तुनिष्ठ समीक्षा र मूल्याङ्कनले नै आगामी दिनमा अगाडि बढ्नको लागि सही आधार र मार्गदर्शन प्रदान गर्न सक्दछ भन्ने म ठान्दछु । त्यसैले स्वस्थ एवं वस्तुनिष्ठ समीक्षाका साथ महत्वपूर्ण पृष्ठपोषणको लागि यहाँहरुसमक्ष हार्दिक अपिल गर्न चाहन्छु ।

विकास र समृद्वि हासिल गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको प्रदेश सरकारलाई सबै क्षेत्रको सकारात्मक साथ र सहयोग प्राप्त भएको छ । आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त हुने अपेक्षा राखेको छु । प्रदेश सरकारलाई सहयोग पु¥याउनुहुने प्रदेश सभा, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक क्षेत्र, निजीक्षेत्र, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चार क्षेत्र र आम प्रदेशवासी दाजुभाइ, दिदी बहिनीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

 

Continue Reading

Facebook Comment

17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित

Published

on

नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।

यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।

यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।

यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।

Continue Reading

Banner

निर्वाचन तयारीमा चीनको ४० लाख डलर सहयोग

Published

on

आगामी निर्वाचनका लागि चीनले ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ ।साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ ।

बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए । रासस

Continue Reading

Banner

निर्वाचन तयारी तीव्र, मतदान अधिकृतलाई तालिम सुरु

Published

on

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेको बताए ।

उनले भने, ‘निर्वाचनलाई तनावका रुपमा लिन हुँदैन र त्यसलाई तनावका रुपमा लिँदा कठिनाइ आउन सक्ने भएकाले तनावको व्यवस्थापन गर्न सिक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ ।’

उनले आगोको सानो झिल्कोले वन सखाप पारे जस्तै हाम्रा बोली, बचन र व्यवहारको सानो रूपले ठूलो रूप लिन सक्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको उल्लेख गरे ।

हरेक बोली र आचरणलाई होसियारीपूर्वक लिनुपर्नेमा जोड दिँदै मुख्य निर्वाचन अधिकृत दाहालले मतदान केन्द्रमा आउने अशक्त, धेरैबेर उभिन नसक्ने मतदाताका लागि स्थानीय तहको सहयोगमा टेन्टको व्यवस्थापन गर्न आग्रह गरे ।

‘आचरण र अनुशासनलाई नियन्त्रणमा राख्ने जिम्मा यहाँहरूको हातमा छ’, उनले भने । आचरणको विषय निर्वाचन कसुरसँग जोडिएको जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत दाहालले विभागीय कारबाहीसँगै निर्वाचन कसुरमा कारबाही हुने चेतावनी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचन आचारसंहिता पालना गरेको वा नगरेको भन्ने विषयमा निगरानीमा रहेको बताए ।

उनले मतदातामध्ये अनुपस्थित मतदाताको पनि मतदान गर्ने चेष्टा हुनसक्ने भएकाले त्यसमा सतर्कता अपनाउन आग्रह गर्दै निर्वाचनको कार्यविधि अनुसार कडाइ गर्न निर्देशन दिए । ‘मतदातामध्ये अनुपस्थित मतदाताको मतदान भयो भने भयावह अवस्था हुनसक्छ’ प्रमुख जिल्ला अधिकारी तामाङले भने ।

बाँकेको सुरक्षा संवेदनशीललाई ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै उनले मतदानस्थलमा मतदानको वातावरण निर्माण गर्न स्थानीय तहको वडा कार्यालयबाट प्राप्त हुने स्रोतसाधनको सदुपयोग गर्न आग्रह गरे ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा ४०३ मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रमा ८०० मतदान अधिकृत तथा सहायक मतदान अधिकृत परिचालन हुने जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।

यही फागुन १४ गतेसम्म हुने प्रशिक्षणमा १६० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहभागी भएका थिए । सो प्रशिक्षण चरण चरणमा हुने र नमूना मतदान अभ्याससमेत हुने निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । रासस

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक