कोशी प्रदेश
यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३)
फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ ।
त्यसै क्रममा २०४३ सालको एसएलसी परीक्षा रद्द भएपछि पढाइलाई थाँती राखी खुला विद्यालयबाट २०६० सालमा एसएलसी दिई पढ्ने चाहनालाई साकार पारेकी सुन्दरहरैंचा १ की भगवती पौडेलको सङ्घर्ष यहाँ प्रस्तुत गरिएको छ । राजनीति र समाजसेवामा पनि क्रियाशील उनी सुकुना बहुमुखी क्याम्पसको स्नातकोत्तर तहकी नियमित विद्यार्थी हुन् । पिएचडीसमेत गर्ने लक्ष्य लिएकी उनले जीवनमा धेरै सङ्घर्ष गरेकी छिन् ।
झापा जिल्लाको गौरीगञ्जमा जन्मिएकी उनी २०४४ सालमा विवाह बन्धनमा बाँधिएर मोरङ जिल्लाको तत्कालीन हरैंचा–७ मा आइन् । त्यसपछि श्रीमान्सहित उनी राजनीति र समाजसेवामा अघि बढिन् ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेकी उनी २०४६ सालदेखि नेपाली काङ्ग्रेसको राजनीति गर्दै आएकी छिन् । नेपाली काङ्ग्रेसको भातृ संस्था महिला संघको केन्द्रीय सदस्य, तत्कालीन कोशीहरैंचा नगरपालिकाको नगर विकास अध्यक्षका साथै विभिन्न सहकारी संस्थामा आबद्ध हुँदै र नेतृत्व लिँदै उनी अघि बढिरहेकी छिन् ।
उनीसँगै १५ जनाभन्दा बढी विद्यार्थीको एसएलसी परीक्षा रद्द भयो । उनका अनुसार त्यसबेला परीक्षा सुपरिटेन्डेन्टसँग विवाद गर्ने सबैको परीक्षा रद्द भएको थियो । त्यसबेलको एसएलसीको सिम्बल नम्बर २४५२ उनलाई अझै पनि याद छ ।
जान्ने विद्यार्थीको पनि यसरी परीक्षा रद्द भएर आउँदा आफूमा मानसिक चिन्ता परेको र त्यही बेला विवाहको कुरा आएपछि विवाह गरेको उनले बताइन् । पछि २०६० सालमा खुला विद्यालयमार्फत् श्री मावि मृगौलिया मोरङबाट उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।
आफ्नो नाति उमेर समूहका विद्यार्थीसँग बसेर अध्ययन गर्दा आफूलाई कुनै ग्लानि हुँदैन भन्ने प्रश्नमा उनी युवा विद्यार्थीको जोशले आफूलाई अध्ययनमा थप ऊर्जा थप्ने बताउँछिन् । उनीहरुले पनि अभिभावक पाएको महसुस गर्ने गरेको उनले सुनाइन् । ‘यो उमेरमा पनि यसरी आएर पढ्नुहुन्छ । हामीले पनि यो समयलाई खेर फाल्नुहुँदैन भन्ने कुरा गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘यसमा मलाई अत्यन्तै गौरव लाग्छ । कुनै ‘गिल्टी फिल’ पनि हँुदैन । यसैले म अगाडि बढेकोजस्तो लाग्छ ।’ आफूले अध्ययन गर्न थाल्दा सन्तानलाई पनि खुशी लागेको पनि उनले सुनाइन् ।
घरभित्रै बसिरहने र महत्वपूर्ण समय खेर फाल्ने नारीलाई इच्छाशक्ति जगाएर शिक्षालाई अगाडि बढाउन उनी सुझाव दिन्छिन् । आफूमा इच्छाशक्ति जाग्नुको कारण उनले यसरी बताइन् ।
‘म एउटा सहकारी संस्थाको तालीममा काठमाडौं गएकी थिएँ र त्यो तालीममा आफ्नो परिचय दिँदा आफ्नो शैक्षिक अवस्था पनि भन्नुपथ्र्याे । मैले त्यहाँ आफूले एसएलसी पास गरेकी भनेर ढाँटेँ । त्यहाँ त्यसरी ढाँटेपछि अब मैले साँच्चै एसएलसी पास गर्नुपर्छ भन्ने लाग्यो ।
घरमा आएर अब म पढ्छु भनी श्रीमान्सँग भन्दा ‘पढ्नु नि त पढेर पास गर्नू । ९ कक्षादेखि पढ्नू…’ भनेर अलिकति बिझ्ने तरिकाले भन्नुभयो । मलाई नरमाइलो लाग्यो । त्यसपछि अलि इख लिएर खुला विद्यालयमा भर्ना भएँ र एसएलसी दिएँ । त्यो दिनको नरमाइलो पलले यो अवस्थामा ल्यायो ।’
खुला विद्यालयमा भर्ना भएपछि परिवारबाट उनले राम्रो सहयोग पाइन् । गाउँका मान्छे भने कुरा काट्न थाले । पढ्न थालेको थाहा पाउनेले ‘मर्ने बेलामा हरियो काँक्रो …’ भनी खिसी गर्न थाले । उनी समाजसेवा र राजनीतिमा पनि लागेकी महिला भएकी हुनाले तालीम, मिटिङ या त्यस्तै अन्य काममा हिँडेको भनेर ढाँट्न थालिन् । बाटो परिवर्तन गर्दै विद्यालय जान थालिन् । तर जुन बाटोबाट जाँदा पनि गाउँलेले सोध्ने क्रम रोकिएन । बारम्बार झुट बोलिरहनुभन्दा उनले अर्काे निर्णय गरिन् । खुला विद्यालयमा बिहान ६ बजेदेखि पढाइ हुन्थ्यो । उनको घरबाट विद्यालय पुग्न १ घण्टा पैदल हिँड्नुपथ्र्याे । तर उनी ४ बजे नै उठेर विद्यालय जान थालिन् । जसले गर्दा बारम्बार एउटै प्रश्नको सामना गर्न कम भयो ।

अहिले समग्र महिलाको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनी तीन ओटै तहका निर्वाचन सम्पन्न भइसक्दा पनि महिलालाई अझै पछि नै पारिएको देखिएको उनको ठम्याइ छ । अहिले महिला सक्षम भइसकेका छन् भनिन्छ, तर स्थानीय तहलगायतका अन्य विभिन्न क्षेत्रमा महिलालाई प्रमुख पद दिन हिच्किचाइन्छ । महिला भएकै कारण दोस्रो दर्जाको रूपमा हेरिने परिपाटीले गर्दा महिला खुशी हुने अवस्था नआएको हुनाले नेतृत्व तथा व्यक्तित्व विकास आवश्यक भएको उनको भनाइ छ ।
पितृसतात्मक सोचको धङधङी अझै पनि नगएकै कारण पराम्परा बनेको हैकमवादले नछोडेको उनको अनुभव छ । महिलालाई अघि बढाउँदा हामी तल पछौंँ, हामी त पुरुष हो नि कहाँ महिलालाई अगाडि बढाउने भन्ने भावना अझै कायमै रहेको उनी बताउँछिन् । एक दुइ जना महिला सत्तामा गए भन्दैमा नहुने बताउँदै समग्र महिलाको अवस्थालाई चित्रण गर्दा अहिले पनि महिलाको अवस्था दयनीय रहेको उनले बताइन् ।
नारी दिवसको अवसरमा महिलालाई के भन्न चाहनुहुन्छ भन्दा दिवस औपचारिकताजस्तो मात्रै भएको र पुरानै अधिकार तथा माग अझै पनि माग्नुपर्ने अवस्था आएको उनले खुलाइन् । सन् १९७७ मा संयुक्त राष्ट्र संघले सबै देशका प्रतिनिधिलाई बोलाएर महिलाका लागि अधिकारका साथै समान काममा समान ज्याला पाउनुपर्छ भने पनि त्यो अझै पूरा नभएको र महिला हिंसा दिनानुदिन बढिरहेको देखिएको उनले बताइन् । दुरदराजका महिलालाई राज्यले नहेरेको र आरक्षण निर्धारण गरेर मात्रै अधिकार नपाइने पनि उनले सुनाइन् । राज्यको फितलो कानुनले गर्दा नै दिनप्रतिदिन हिंसाका घटनाले प्रश्रय पाएको र हिंसाको उजुरी दिन जाँदा उजुरी नलिने र घटनालाई राजनीतिक रङ दिनुले महिला अधिकार नारामा मात्रै सीमित देखिएको उनले प्रष्ट्याइन् ।
पछिल्लो दिनमा पुरुष हिंसा बढेको पाउनुभएको छ कि छैन भन्ने प्रश्नमा उनले

महिला हिंसाभन्दा पनि पुरुष हिंसा अझै बढेर गएको बताइन् । बेरोजगार युवालाई राज्यले रोजगारीको सिर्जना नगरेका कारण दैनिक घर खर्च चलाउन, छोराछोरीलाई शिक्षा दिन नसकेकै कारण विदेशिनुपर्ने बाध्यताकै परिस्थितिले र जिम्मेवार युवा सर्टिफिकेट हातमा बोकेर खाडी मुलुक जाने परिस्थिति आउनु दुर्भाग्यपूर्ण भएको उनले बताइन् । त्यहाँबाट ल्याएको रेमिट्यान्सले देशको आर्थिक स्थिति मजबुत बनाए पनि देशको लागि दुर्भाग्यपूर्ण रहेको र महिलाले आफ्नो अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गर्नाले परिवार तहसनहस हुने समस्या पनि बढिरहेको उनको भनाइ थियो । विदेशबाट घर आउँदा सम्पत्ति र श्रीमती दुवै नहुँदा त्यस्ता युवा मारमा परेको उनले सुनाइन् ।
विलासी जीवन बिताउने र देखासिकी गर्ने परिपाटीले पारिवारिक जिम्मेवारीबोध हराउँदै गएको उनले बताइन् । यस्ता घटना हुन नदिन घरपरिवार, समाज, राष्ट्रको दायित्व र आफ्नो दायित्व भुल्न नहुने उनको भनाइ छ ।
कर्तव्यबोधका लागि सचेत भई अघि बढ्दा मात्रै नारी दिवसको औचित्य र उद्देश्य पूरा हुने उनको भनाइ छ । महिला आर्थिक रूपमा सबल नभएका कारण पुरुषमा र परिवारमा आश्रित हुनुपर्ने भएका कारणले पनि अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने परिपाटी मौलाएको उनको ठहर छ । केही महिलाले नेतृत्व ग¥र्यौँ भनेर खुसी मानेर बस्ने अवस्था नभएको हुनाले दुरदराजका दिदीबहिनीको आवाजलाई बुलन्द गरे मात्र सभ्य र संस्कारवान् समाज बन्न सक्छ ।
सरकारले महिलाका लागि धेरै किसिमका सीपमूलक तालीम ल्याए पनि ती तालीम प्रभावकारी नभएको देखिएको उनको भनाइ छ । कहाँ कस्तो तालीम दिँदा उपयुक्त हुन्छ भनेर अध्ययन गर्नुपर्ने तथा त्यहाँ तालीम दिएपछि कत्तिको प्रभावकारी भयो भनेर अनुगमन गरिनुपर्ने उनले औँल्याइन् । राम्रो तालीम लिए पनि तालीमपछि व्यवसाय गर्न आर्थिक अभाव हुँदा कतिपय प्रशिक्षार्थीले तालीम लिएर पनि व्यावसायिक बन्न नसकेका हुनाले त्यस्ता सीप भएका व्यक्तिको अवस्थालाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, तालीमको आयोजना गर्दा मेरो मान्छेलाई तालीम दिलाउनुपर्छ भनी जथाभावी सिफारिश गराउने तर तालीम लिन योग्य छ कि छैन त्यो चाहिँ नहेर्ने परिपाटी खतरापूर्ण भएको पनि उनले सुझाइन् । मेरो मान्छे तालीममा पर्नुप¥यो भन्ने अनि बारम्बार एउटै मान्छेले धेरै तालीम लिए पनि व्यावसायिक बन्न पहल नगर्नेप्रति कडाइ गर्नुपर्ने उनको सुझाव छ । सीपमूलक तालीम कार्यक्रमबाट कमै महिलामात्र स्वरोजगार भएको बताउँदै तालीममा सहभागी हुने व्यक्ति छनोट गर्ने प्रक्रिया नै गलत भएको उनले खुलाइन् ।
नारी दिवस मनाइरहँदा नारीभित्रका पीडा, व्यथा कुण्ठा दिवसले पहिचान गर्न सकोस् भन्ने उनको शुभकामना छ । राज्य तत्काल गर्नुपर्ने दायित्व र अधिकारबाट पछि हटेको हो कि जस्तो लागेकाले राज्य चनाखो भएर अघि बढ्नुपर्ने सुझाव उनको छ । राज्यले बनाएको कानुन कार्यान्वयन नहुँदा नारीका पीडा भयावह अवस्थामा रहेको तथा विदेशमा गएर आँशु पिएर बस्ने नारीको अनुहारमा अहिलेसम्मका नारी दिवसले खुशी ल्याउन नसकेको बताउँदै आगामी नारी दिवसले सबैमा खुशी ल्याउन सकोस् भन्ने उनको कामना छ ।
महिला हिंसा न्यूनीकरण गर्न पुरुष दाजुभाइको सुसंस्कारको विकास हुन जरुरी रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकले वृद्धाश्रमसम्म पुग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्ने उनले उल्लेख गरिन् । शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालय जाने वातावरण मिलाउनुपर्ने उनको सुझाव छ ।
अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)
केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो
एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login