मुख्य
यस्तो छ प्रधानमन्त्रीले आज देशवासीका नाममा गरेको सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
– आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ ।
म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु ।
– नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ । देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी अझै पनि उच्च जोखिममा छौंँ ।
– दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।
– तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँ–हामी सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।
– सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।
– यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पुयाउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।
– बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ ।
– कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ ।
– सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । ।मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन् \छैनन्, औषधि–उपचार पाए\पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए\पाएनन् ? त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ ।
– मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । यतिबेला ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ ।
– यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ । हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (यापिड डिटेक्सन टेस्ट- आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ ।
सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटरसहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।
दिदीबहिनी तथा दाजुभाइहरु
– यसबीच हजारौँको संख्यामा नेपालीहरु घर फर्किनुभएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ । उहाँहरुलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ ।
– नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ ।
सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं । लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ ।
– विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधन समेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ । हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील छन् ।
गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिइरहनु भएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो ।आग्रह छ– सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।
– विश्वव्यापी महामारी विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउने छन् ।
– आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको ¥यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ ।
यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए\ नभएको सुनिश्चित गरिनेछ । समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।
– महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको छ ।
– अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरुको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको छ ।
– म विश्वास दिलाउन चाहन्छु– सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाइँहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।
दिदीबहिनी तथा दाजुभाइहरु
– महामारी बिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपाईहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ ।
यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था पनि सरकारले तपाईहरुको समग्र सुरक्षाका लागि गरेको छ ।
– चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता\ बीमा सहित सरकारले तपाईहरुको समग्र सुरक्षाको बन्दोवस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई रु। १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको छ ।
– गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता र’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु ।
जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउता सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ । यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौं ।
दाजुभाइ दिदीबहिनीहरु
– यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छु आच्छु पारिरहेको यस महामारी विरुद्ध जुझ्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो ।
यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप–प्रत्यारोप समेत चलिरहेको छ ।
– नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।
समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।
– सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो । संसदको साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दल सहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु ।
– सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियाँै भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै
– स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरु जनसमक्ष पु¥याउन सञ्चारमाध्यमहरुले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, सङ्कटको बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरुले अझ जिम्मेवार भूमिका खेल्नुहोस् ।
– म एकपटक फेरि दोह¥याउन चाहन्छु– विभिन्न मुलुकहरुको अनुभवले भनिरहेको छ, यस महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न हामी एक होऔं ।
– मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गरेको छ, विजय हासिल गरेको छ । ५ वर्ष अघिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमूना प्रस्तुत गरेका छन् ।
पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौं ।
– यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रोगाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनु होस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ ।
– तपाईंहरूलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिवद्ध छ । म यहाँहरू सबैलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु ।
धन्यवाद । २५ चैत २०७६
Facebook Comment
Banner
ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै
विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।
शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।
भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।
आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।
प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१
Banner
सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह
पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।
ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।
सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।
उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।
Banner
अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर
विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।
एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login