समाजमा यस्ता प्रतिभा पनि भेटिन्छन् जसमा हुने विरूवाको चिल्लो पात भनेजस्तै सानैदेखि प्रतिभाको खानी रहेको पाइन्छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेकी खुस्बु घिमिरेमा टुकुटुकु हिँड्ने बेलादेखि फरक प्रतिभा देखिन थालेको थियोे । खुस्बु कलिलै उमेरमा गाउँघरमा पूजा हुँदा नाच्न पाइन्छ भनेर उतै हराउँथिन् । उनको ध्यान नाच्नमै जान्थ्यो ।
‘छोरी तिहारमा देउसीभैले आउँदा रातभरि नसुती नाच्न मन गर्ने,’ उनकी आमा कमला भन्छिन्, ‘हामीलाई छलेर नाच भएतिर जाने अनि उसको बाबाले खोजेर ल्याउने गर्नुहुन्थ्यो ।’
उमेर बढेसँगै प्रतिभा पनि उर्लँदै गयो । विद्यालय जान सक्ने उमेर भएपछि गाउँमै रहेको बालप्रतिभा बोर्डिङ स्कुल खोर्सानेमा उनलाई कखरा सिकाउन शुरु गरियो । उनी साथीहरूसँग घुलमिल भइन् । विद्यार्थीलाई नाच्न, गाउन, खेलाउन लगाउने गरेको देखेर उनी लोभिइन् । केही दिनपछि सरस्वती पूजाको अवसरमा विद्यालयमा कार्यक्रम आयोजना भयो । नृत्य, सङ्गीत आदिमा भाग लिनेको नाम टिप्ने क्रममा खुस्बुको पनि नाम लेखियो । उनले नृत्य प्रस्तुत गरिन् त्यो नृत्यले सबैलाई चकित मात्र पारिनन् विद्यालयका प्रिन्सिपल गणेशप्रसाद दाहालले स्कुलमा लाग्ने शुल्क नलिने बताए र उनको कला क्षेत्रमा भरपुर सहयोग गर्ने उद्घोष गरे । दाहालका अनुसार उनले कक्षा १ देखि १० सम्म सो स्कुलमा अध्ययन गर्दा कुनै कक्षामा पनि मासिक शुल्क विद्यालयले लिएन ।
पछि उनी विराटकला समूहमा नृत्य सिक्न थालिन् । त्यहाँ नृत्य प्रशिक्षक राजु बस्नेत र सन्तोष मगरले उनीभित्र रहेको कलामा निखार ल्याउन सहयोग गरे । हरेक वर्ष माघ १ गते विराटचोकको काली मन्दिरमा मेलामा हजारौं दर्शकमाझ उनले आफ्नो प्रस्तुति दिइन् ।
पछि झापा, मोरङ र सुनसरीमा लाग्ने मेलामा दर्जनौ स्टेज सोमा भाग लिने अवसर पाइन् । त्यहाँ राम्रो प्रस्तुति गरेपछि उनको यात्रा नृत्य प्रतियोगितातर्फ मोडियो ।
उनले विभिन्न प्रतियोगितामा सहभागी भएर पुरस्कार जित्दै गइन् । दार्जिलिङमा भएको बागवानी डान्स कम्पिटिसनमा उत्कृष्ट १० मा पर्न सफल भइन् । लिटल च्याम्प २०७३ मा उनी पहिलो भइन् । सुनसरीमा भएको प्रतिभाको आँगन प्रतियोगितामा उनी दोस्रो भइन् ।
पूर्वाञ्चल डान्स सुपर स्टारमा पनि दोस्रो भएकी उनी प्रदेश १ हिपहप डान्समा च्याम्पियन भइन् भने एलएभडी स्कुल च्याम्पमा फाइनलसम्म पुगिन् । तेह्रथुममा भएको प्रथम लालीगुराँस डान्स आइडलमा पनि उनी सहभागी भइन् ।
उनले भारतीय टेलिभिजन रियालिटी सो ‘बुगीबुगी’ मा पनि भाग लिन खोजेकी थिइन् तर सानै उमेर भएकाले त्यहाँ भाग लिन पाइनन् । नाचेर सबैलाई मोहित पार्ने कला भएकी उनको पढाइ बिग्रने हो कि भनेर नाच्ने बानी हटोस् भनेर अभिभावकले काठमाडौंमा पढाउन पनि खोजेका थिए ।
‘२÷३ कक्षामा हुँदा मैले उसको नाच्ने बानी हटाउन काठमाडौंको विद्यालयमा भर्ना गरिदिएँ’, उनकी आमा कमला भन्छिन्, ‘त्यहाँ पनि नाच्न अब्बल भइन् । त्यहाँ पनि विभिन्न प्रतियोगितामा भाग लिन पुगिन् त्यसपछि फेरि घर नै ल्याएर यहीँ पढाउन थालेको आमा बताउँछिन् ।
उनको बुबाको सवारी दुर्घटनामा परेर २०७२ सालमा निधन भयो । सबैभन्दा धेरै सहयोग गर्ने विभिन्न ठाउँ लैजाने र ल्याउने मान्छेको अभाव खड्कियो त्यसपछि भने बाबुले गर्ने गरेको सहयोग आमाले गरेर उनलाई बाबुको माया पनि दिइन् । नाच सिकाउने सरहरूको माया र उहाँहरूले भने अनुसार समय व्यवस्थापन गरेको खुस्बुकी आमा कमला बताउँछिन् ।
‘उमेर मेरो पुगिसक्यो छैन अब सानी…’ बोलको गीत बाट शुरू भएको उनको यात्रा अहिलेसम्म रोकिएको छैन । खुस्बु भन्छिन्, ‘मोडलिङ र राम्रो डान्सर हुने सपना छ ।’ लोक, झ्याउरे, हिपप र हिन्दी गीतमा नाच्न उनी खप्पिस छिन् । यो उमेरमा नगरमा सबैभन्दा धेरै ट्रफि ल्याउने एक मात्र उनी हुन् ।
आज राष्ट्रिय बाल दिवस देशभर मनाइँदै
Pingback: जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग - निष्पक्षखबर
Pingback: उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो - निष्पक्षखबर
Pingback: आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५) - निष्पक्षखबर