Connect with us
Advertisement

सगरमाथामा हिउँ पग्लिन थालेपछि पुरिएका शव देखिँदै, बाटोबाट हटाउन आरोहीको माग

Published

on

आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पा हिमालमा शव देख्दा मन चसक्क हुने बताउनुहुन्छ । जुनसुकै बेला विपत्ति आउनसक्ने हिमालमा अरुको शव देख्दा मनमा डर पैदा हुने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ ‘शव देख्दा मेरो पनि अवस्था यस्तै भयो भने मेरो छोराछोरी तथा मेरो परिवार के गर्ला, विचरा यो मान्छेका परिवार के गर्दै होलान् भन्ने सोच आउँछ ।’ मनलाई एकोहोरो बनाएर आरोहण गरिरहेको बेला शव देख्दा मन बहकिने उहाँको अनुभव छ ।

झण्डै दुई दशकदेखि हिमाल आरोहण गर्दै आएका शेर्पा पछिल्ला वर्षमा हिउँ पग्लिए सँगै शव देखिन थालेको बताउनुहुन्छ । कतै सग्लै शव त कतै टुक्रिएका अङ्ग अनि कतै अस्थिपञ्जर देखिन्छ । अघिल्ला वर्षहरुमा शव नदेखेको ठाउँमा पनि अर्काे वर्ष पुरानो शव देखिने गरेको उहाँको भनाइ छ ।

अर्का आरोही नरबहादुर अस्थानी मगर पनि सगरमाथा आरोहण गर्दा धेरै शव देखेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘कतै सग्लै शव देखिन्छ, कतै छुटिएको अङ्ग मात्र पनि देखिन्छ, बाटो आसपासमै शव देखिन्छ ।’

सबैभन्दा कम उमेरमा १४ वटै अग्ला हिमालको आरोहण गर्नुभएका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा पनि आरोहणका क्रममा थुप्रै शव देखिने गरेको बताउनुहुन्छ । कहिलेकाहीँ त शवलाई नाघ्दै हिँड्नुपर्ने अवस्था पनि आउने उहाँ बताउनुहुन्छ ।

सर्वोच्च शिखरको आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको शव सगरमाथामै रहेको बताइन्छ । बरफ र हिउँमा पुरिएका शव पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेका छन् ।

चिनियाँ मोहोडातर्फका धेरै शव हटाइएको भएपनि नेपालतर्फ शव हिउँमै छन् । अघिल्लो वर्ष शव नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर शव देखिने गरेको आरोहीहरु बताउँछन् । यस्ता शव खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिन्छ । चौँथो शिविर र आसपासमा धेरै शव रहेका छन् । खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि शव देखिएका छन् ।

हिमालको माथिल्लो भागमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुन्छ । सगरमाथा सरसफाइ अभियान संचालन गरी केही शव आधार शिविरमा ल्याएका आरोही एवम् अभियानकर्मी पीके शेर्पा महँगो पर्ने भएकैले धेरै शव उतै रोकिएका बताउनुहुन्छ ।

केही आरोहीहरुले भने हिमालमा ज्यान गएमा शव त्यतै छोड्नु भनेको भन्दै आफन्तले शव ल्याउन अस्वीकार पनि गर्ने गरेका छन् । धेरै चाहिँ चाहेर पनि भेटिएका छैन वा ल्याइएको छैन । जे कारण भए पनि हिमालमा शवको संख्या बढ्दै जानु हिमाल र त्यहाँ पुग्ने अरु आरोहीका लागि पनि जोखिमको कुरा भएको आरोहीहरु बताउँछन् ।

नेपाली सेनामार्फत संचालन भएको सरकारको हिमाल सफाइ अभियान अन्तर्गत केही शवको उद्धार भएको छ । तर अझै धेरै शव हिमालमै छन् । सरकारले चाहेमा शव खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो शवहरु तल ल्याउन सम्भव पनि रहेको आरोहीहरु बताउँछन् । – उज्यालो अनलाइनबाट

फोटो सौजन्य : पीके शेर्पा

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading

Banner

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,

Published

on

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।

उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।

छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।

वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।

हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।

साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।

‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।

टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक