विराटचोक: पूर्वेली लेखक तथा पत्रकार केशु विरहीको अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ ले नयाँ इतिहास रच्ने भएको छ । प्रकाशोन्मुख अवस्थामै रहेको यो कृतिको प्रि–बुकिङ विधिबाट विक्री खुला गरिएको एक हप्ता नबित्दै दुई सय पचास भन्दा बढी प्रतिको बुकिङ भएको उनले जानकारी दिए । विरहीले केहीदिन अघि मात्र कृतिलाई प्रि बुकिङ (अग्रिम भुक्तानी) प्रणलीमार्फत् बिक्री गर्ने सूचना फेसबुकमा पोस्ट गरेका थिए । उनले पोस्ट गरेको २४ घण्टा नबित्दै एक सयभन्दा बढी प्रति बिक्री भएका थिए भने ६ दिन सम्ममा २ सय ५१ प्रति बिक्री भइसकेको लेखक विरहीले बताए ।
यसरी कृति बिक्री भएको पूर्वमा पहिलो पटक भएको अनुमान आफूले गरेको उनले जनाए । पुस्तक प्रकाशन नहुँदै पाठकले देखाएको रुचिले आफूलाई हौस्याएको उनको भनाइ थियो । ‘साहित्यलाई माया गरौँ, कृति मागेर होइन किनेर पढौँ’ भन्ने उद्देश्यका साथ आफूले यो अभियानको शुरुवात गरेको उनी बताउँछन् ।
कथा, उपन्यास, गजल, बालकथा, तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहालीलाग्दा गोरेटाहरू’ (उपन्यास (सहलेखन) २०५५, ‘आमाको माया’ (उपन्यास) २०५६, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजल सङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंंशावली) २०६५, ‘सुलोचना (कथा सङ्ग्रह) २०७१ जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् । यो उनको आठौँ कृतिको रूपमा बाहिर आउन लागेको हो ।
लामो समयदेखि बेलबारीलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका विरही साहित्यका माध्यमबाट बेलबारीलाई चिनाउने अभिप्रायले यो कृति लेखेको बताउँछन् । कृति प्रकाशन गरेर उपहारमै सक्नुपर्ने बाध्यता रहेको बेलामा शुरु गरिएको यो अभियानले लेखकलाई उचित सम्मान गर्ने स्रष्टाहरूको बुझाइ रहेको आशय प्रष्ट हुने उनले औँल्याए ।
मङ्सिरमा बजारमा आउने यस कृतिको प्रकाशन नहुँदै पाठकले रुचाएकाले खोज तथा अनुसन्धानमूलक कृतिको माग रहेको कुरालाई पुष्टि गरेको बेलबारी साहित्य विकास समितिकी अध्यक्षसमेत रहेकी स्रष्टा तिला लेकाली बताउँछिन् । यस कृतिमा बेलबारीको २०१३÷१४ सालदेखि हालसम्मको साहित्यिक इतिहास, विधा साहित्यको इतिहास, कृति प्रकाशन गर्ने तथा लामो समयदेखि साहित्य साधनामा लागेर पनि कृति प्रकाशन गर्न नसक्ने लेखक तथा स्रष्टाको परिचय र बेलबारीमा गठन भएका साहित्यिक सङ्घ–संस्था तथा सञ्चार मिडियाको समेत परिचय समेटिएको बताइएको छ ।
लेखक विरहीले दलीय भागबण्डाका आधारमा गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठान गठनप्रति विमति जनाउँदै आएका छन् । प्रज्ञा–प्रतिष्ठानजस्तो नगरकै गरिमा बोक्ने संस्थाको गठन दलीय भागबण्डाको आधारमा नभई योग्यता, क्षमता तथा योगदानका आधारमा हुपर्ने उनको अडान रहेको छ ।
You must be logged in to post a comment Login