शिक्षा / स्वास्थ्य
महामारीको इतिहासमा आइसोलेसन र क्वारेन्टाइन
‘वास्तवमा भयानक कोरोना भाइरससँगको यो ऐतिहासिक लडाइँमा आम विश्व फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने पाठ यति बेला समयले सारा जगतलाई सिकाएको आभास हुन्छ ।’
२१ औं शताब्दीको लगभग एक चौथाइ हिस्सा पार गर्दानगर्दै कोरोना भाइरस (कोभिड १९) ले विश्वभर तवाही मच्चाइरहेको छ । यो त्रासद र भयावह स्थितिले मानव समुदायलाई नै सशंकित र त्राहीमाम तुल्याएको छ । गत डिसेम्बरदेखि चीनको वुहानबाट शुरु भएर विश्वभरि नै फैलिएको अजीब कोरोना भाइरसले आजसम्म ४० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने ८ लाख जनाभन्दा बढीमा यसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
संसारका अधिकांश देशहरूमा प्रवेश गरिसकेको कोरोना भाइरसको माहामारीले मानवीय क्षति मात्र नभई विश्वको अर्थतन्त्रलाई नै धराशायी पार्ने देखिन्छ ।
अहिले विश्वका शक्तिशाली र विकसित मुलुकहरू कोरोना भाइरसको भीषण र कहालीलाग्दो कहर झेलिरहेका छन् । चीनपछि इटाली र स्पेन हँुदै अमेरिकामा कोरोना भाइरसबाट संक्रमितहरूको संख्या उच्च दरमा वृद्धि हुँदै गरेको देखिन्छ भने मानव मृत्युदर पनि दिनदिनै वृद्धि भइरहेको छ । मानौँ कोरोनाले मानव प्राणको होली खेलिरहेको छ । यो विषम परिस्थितिको सामना गर्न चीन, इटाली, स्पेनलगायतका राष्ट्रहरू पुरै क्वारेन्टाइनमा छन् । महामारीको त्रासदपूर्ण चपेटामा विश्व फस्दै गइरहेको छ । चीनले पूरा २ महिना वुहानमा लकडाउन गर्यो ।
इटाली, स्पेन, नेपाल, भारत, लगायतका केही देशका सरकारहरूले देशव्यापी रूपमा लकडाउनको घोषणा गरे । विवशताले मुलुकबाट बाहिरिन बाध्य भएका सयौं नेपाली नागरिक यतिबेला सीमामा अलपत्र परेको समाचार आइरहेको छ । यो महामारीबाट बच्न सिंगो देश यतिबेला क्वारेन्टाइनमा छ तर विश्वको इतिहास पल्टाएर हेर्दा क्वारेन्टाइन र विनाशकारी महामारी भने यो पहिलो होइन । मानव सभ्यताले योभन्दा भीषण र दर्दनाक महामारीहरूको सामना गरिसकेको तथ्य भेटिन्छ । ती कतिपय लिखित छन्, कतिपय अलिखित छन् । लिखित अभिलेखको अध्ययन मात्रले पनि सिंगै आत्मा आतंकित हुन्छ र त्यस्तो महामारी विश्वले कसरी झेल्यो होला भनेर कल्पना पनि गर्न कठिन हुन्छ ।
यसबाट बच्न र बचाउन सरकारबाट आम नागरिकहरूलाई विभिन्न उपायहरू (जस्तैः बेलाबेला साबुनपानीले हात धुने, मास्क र पञ्जा लगाउने, भीडभाडमा नजाने, कुनै उत्सव सभा सम्मेलन नगर्ने) अबलम्वन गराइँदैछ र आफू र आफ्नो परिवार, समाज र राष्ट्रलाई जोगाउन होम क्वारेन्टाइनमा बस्ने निर्देशन जारी गरिएको छ । त्यसलाई सफल पार्न सिंगो मुलुक लकडाउन गरिएको छ ।
उग्र रुपमा संक्रमण फैलिएका मुलुकहरूका अधिकांश स्वस्थ्यकर्मीहरू विश्वयुद्ध भन्दा भयंकर यस महामारीसँगको युद्धमा ज्यानको बाजी लगाएर होमिएका छन् । कति डाक्टर नर्सहरूले कर्तव्य निर्वाह गर्ने क्रममा जीवनको बलिदान दिएका छन् । सञ्चार माध्यमहरूले रातदिन नभनी जनमानसलाई कोरोनाको तहल्काको अपडेटका साथै चेतना र सूचनाहरू प्रवाह गर्ने र गराउने क्रम जारी छ ।
विभिन्न देशका राष्ट्र प्रमुखहरू कोरोनासँगको लडाइँमा विजय प्राप्त गर्न बेलाबेला विशेष सन्देशहरू प्रवाह गरिरहेका छन् । वास्तवमा भयानक भाइरससँगको यो ऐतिहासिक लडाइँमा आम विश्व फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने पाठ समयले यति बेला सारा जगतलाई पढाएको आभास हुन्छ ।
महामारीबाट बच्ने प्राचीन र उत्तम उपायमध्ये एक विकल्पको रुपमा क्वारेन्टाइनको इतिहास पनि महमारी सँगसँगै जोडिएर आएको पाइन्छ ।
अहिले नेपाल लगायत विभिन्न राष्ट्रहरूमा यो विकराल महामारीबाट जोगिन र जोगाउन विभिन्न अस्पताल, विद्यालय, सैनिक क्याम्प लगायत सरकारी भवनहरूमा उपलब्ध भएसम्मका भौतिक पूर्वाधारसहित बेडहरू जुटाएर क्वारेन्टाइनस्थलको व्यवस्था गर्न स्थानीय तथा केन्द्रीय सरकार लागेका छन् । विभिन्न महामारीमा क्वारेन्टाइन एउटा उत्तम र भरोसायुक्त उपाय साबित भएको इतिहास पाइन्छ । जसलाई हाम्रै गाउँ समाजमा उपयोगमा ल्याएको कुराहरू अग्रजहरूबाट सुन्दै आएका छौँ ।
विगतमा नेपालमा पनि क्वारेन्टाइन र आइसोलेसनको विभिन्न स्वरुप प्रयोग भए भएको थियो भन्ने प्रसंगमा सानो किस्सा म यहाँ उल्लेख गर्न चाहन्छु ।
आजभन्दा लगभग १६\१७ वर्ष अगाडि तराई (इटहरी) मेरो लागि नौलो भूमि थियो । जहाँ बसोबास गर्न थालेको धेरै भएको थिएन । तर यहाँको हरेक परिवेश र पर्यावरण मेरो लागि नवीन र कौतुहलजनक हुन्थे । हाम्रो घरको बाटो भएर हिँड्ने हरेक मान्छेहरू मेरा लागि नौला र अपरिचित हुन्थे । कोही त्यही बाटो दिनहुँ हिँड्थे कोही एकदुई पल्ट हिँडेर कहाँ हराउँथे मलाई थाहा हुँदैनथियो ।
यीमध्ये एक जना लगभग ७० वर्ष पार गरेका सुकिला वृद्ध बैशाख महिनामा छाता ओढेर दिनहुँजसो त्यो बाटो हिँड्थे । उनी कता हिँडेका हुन् किन हिँडेका हुन् जान्ने उत्सुकता हुन्थ्यो तर बोलाउने आँट गर्न सक्दिनथेँ ।
एक दिन हाम्रो घरको पेटीमा बसेर उहाँले थकाइ मार्नुभयो । पानी मागेर खानुभयो । ‘पहाड कता हो नानी’ भनेर सोध्नुभयो । मैले सबै बताएँ । सबै कुरा सुनेपछि ‘तिमी त देवीथानको मा’जान बुडाको नातिनी र’छौ उनी त मेरा मीत दाइ हुन्’ भन्नुभयो । त्यसपछि मैले पनि बाँकी कुरा सोध्ने साहस गरेँ ।
उहाँ मेरो कान्छा हजुरबा अम्बरबहादुर गुरुङको मीत पो हुनुहुँदोरहेछ । संखुवासभा जिल्लाको ऊबेलाको सरकारी किपट गढी हेर्ने अधिकारी । उहाँको पुर्खाले रणबहादुर शाहको पालादेखि नै संखुवासभाको उत्तरी सिमाना किमाथाङ्का लगायतका गाँैडा र गढीहरूमा गोलाहरू हेर्ने जिम्मा पाएका रहेछन् । सोही जिम्मेवारी पछिल्लो पुस्ताहरूमा हस्तान्तरण हुँदै जाँदा अधिकारी बा को बुवामा सरेको रहेछ । कसरी मीत लगाउनुभयो त ? भन्ने मेरो जिज्ञासामा उहाँले विभिन्न कुरा बताउनुभयो ।
‘त्यस समय नेपालमा बिफरको महामारी आएको थियो । विशेषगरी तराई र पहाडमा फैलिएको महामारीले हजारौं मानिसको ज्यान लिएको थियो । तर त्यो महामारी बीच पनि राज्यले दिएको ड्युटी निभाउनैपर्ने हामीलाई बाध्यता थियो । ड्युटी निभाउने क्रममा आधा साल भरीलाई खाने सामलतुमल लिएर हामी बाउछोरा गोलातिर लाग्नुपर्ने थियो र लाग्यौं । भीर पहाडको कठिन बाटो ४ दिन हिँडेपछि सरसमान बोक्ने चारै जना भरिया बिफरको संक्रमणले बिमारी परे । थामिनसक्नु ज्वरो आयो । अघि बढ्नै सकेनन् । बाक्लो र घना जंगलको बीचबाटोमै रात पर्याे । अँधेरी रातमा सबै जनाको बिचल्ली भयो । बास बस्ने ठाउँ पाएनौँ । बिरामी भरियाहरू, गह्रुँगों भारी, बाबुछोरा ठुलो फसाद र समस्यामा पर्याैं ।
मंसिरको महिना लेकको जाडोको त कुरै छोडौं । पर जंगलको बीचमा अचानक बत्तीको प्रकाश देखियो । अलिकति मनमा आशाको दियो बल्यो । उक्त बत्तीको प्रकाश आएठाउँ पहिल्याउँदै जाँदा त्यहाँ मानव भएको थाहा लाग्यो र सहारा खोज्दै त्यतै लागियो । सेउलाको छहारी हालेको सानो गोठमा दुई जना मानव आकृति देख्दा हामीलाई देउता भेटेजस्तै लाग्यो । नानी, ती दुई जना मान्छे तिम्रो जिजुहजुरबा सापेलामा (जो बाल्यअवस्थामै पोलियो शिकार हुनुभएको थियो) र उनको कान्छो छोरा अथवा मेरो मीत अम्बरबहादुर थिए ।’
त्यसपछि के भयो त बा भनेर मैले सोधेँ ।
मैले मेरो जिजुहजुरबा देख्नै पाइनँ । म जन्मिनुभन्दा अघि नै उहाँ बितिसक्नु भएको थियो । मेरो पुर्खाको जीवनीबारे मलाई जहिल्यै अनेक जिज्ञासा भइरहन्थ्यो ।
तर सुनाउने कोही हुन्थेन । मेरो बाबा सबैभन्दा कान्छो सन्तान भएकाले मैले मेरो बाजे बोजुहरूसँग धेरै समय बिताउन पाइनँ । पूर्वजहरूसँग सामीप्यताको यो अभाव र असन्तुष्टि जीवनभर खड्किरहन्छ । अधिकारी हजुरबाबाट सानो किस्सा सुन्दा पनि खोइ किन हो कुन्नि म द्रवित भएकी थिएँ । त्यसपछि बाले भन्दै जानुभयो ।
मेरो मीतलाई महामारीको रुपमा फैलिएको बिफरले भेटेको रहेछ । घर गोठमा अरुलाई सर्छ भनेर तिम्रो हजुरबाको सल्लाहबमोजिम उहाँलाई टाढा एकान्त जंगलमा राखिएको रहेछ । तिम्रा हजुरबा बैदाङ्गी पनि थिए । ५ सय ८० ओटा भेडा १७ वर्षको जेठा छोराको भरमा गोठ छोडेर जिजुबाजे कान्छा छोरालाई रुँगेर बसेका रहेछन् ।
मीत अलि उठ्न सक्ने भएका थिए । गोठमा पिठो र चामल सकिएर बिजोक भएको रहेछ । सेकाहा घरमा जान पनि ४ दिन लाग्ने, बिरामी छोडेर जान पनि नसकिने ।
सबै बेलीबिस्तार लगाएपछि हामी त्यही गोठदेखि अलि पर अर्को बेग्लै छाप्रो हालेर ९ दिन बस्यौं ।
बिरामी भरियाहरू ज्वरोले त्यहीँ थला परेका थिए । तिम्रो हजुरबाले हिमाली मसला (लसुन, चिङपिङ्, खानक्पा, टिम्बुर, हर्दी) मा जडीबुटी मिसाएर कोदोको खोले दिनमा ३\४ पटक खाने, पानी तताएर खाने, दिनमा ३\४ पटक जाँडको छोक्राले हातमुख धुने र नुहाउने सल्लाह दिए । गोठमै भए पनि अस्पतालको भन्दा असल उपचार र महलको भन्दा आत्मीय आतिथ्यता पाएका थियौं । यो असीम अनुभूतिलाई कसरी अविच्छिन्न राख्ने होला र यो अमूल्य ऋण कसरी चुकाउने होला भनेर मेरो बुवा चिन्तित हुनुहुन्थ्यो ।
९ दिन बसेपछि भरियाहरूलाई ज्वरो र घाउ अलि कम भयो र उनीहरु त्यहीँबाट घर फर्के । ल्याएका सबै सामलतुमल त्यहीँ छोडेर हामी पनि गोलातिर लाग्यौं । गोला बस्दा खानलाई पुरानै चामल थियो । दुई महिनापछि घर फर्किदा तिम्रो हजुरबाको भेडीगोठ खोज्दै आयौं र बाजा बजाएर बाहाँ जोडी भोज लगाएर मीत लायौं । हाम्रो मितेरी नाता हाम्रो जीवनकालसम्म अनन्य रह्यो नानी ।
अब त मीत पनि निकै वृद्ध हुनुभयो । अब त म पनि वृद्ध भएँ । सहारा पछ्याउदै यता मदेश झरेँ । आवतजावत टुट्यो । छोरानातिले यो नाता सम्बन्धलाई निरन्तर राख्न सकेनन् । अब हाम्रो भावी सन्ततिले यो मितेरी साइनो जस्तो आत्मीय नाता भुल्दै गए ।’ उहाँ भावविह्वल हुनुभयो ।
केही समयपछि ती हजुरबा पनि यो लोकबाट बिदा हुनुभयो । म संखुवासभा गएको बेला उहाँले अनन्तको यात्रा तय गर्नुभएछ । दुर्भाग्यवश उहाँको अन्तिम यात्रामा सहभागी हुन पाइनँ तर पनि उहाँको त्यो उज्जर र सुकिलो प्रतिमा मेरो हृदयमा अझै विराजमान छ । मैले उहाँको नाम बिर्सिएँ । म पहिले उहाँको घर गएको थिएँ । आजकाल उहाँको घर जाने बाटो थाहा भए पनि घर ठम्याउन सकिनँ ।
(उहाँको नाम नरबहादुर अधिकारी रहेछ । यो लेख प्रकाशित भएपछि मुक्ति पोखरेलले मलाई यसबारेमा जानकारी गराउनुभयो । पोखरेलले मलाई अधिकारी परिवारसँग भेटाउने बताउनुभएको छ ।)
वास्तवमा मेरो जिजुबाजे र कान्छा बाजेको त्यो अनकन्टार जंगलको बास, त्यो सेउलाको छाप्रो, त्यो प्रलयकारी महामारी अरुलाई सर्न नदिने र आफू बच्ने त्यो बेलाको आइसोलेसन र क्वारेनटाइन नै रहेछ ।
के हो त आइसोलेसन ?
आइसोलेसन शब्दको उत्पत्ति इजल्यान्ड शब्दबाट भएको पाइन्छ जसको अर्थ हुन्छ समुद्रबीचको टापु । सन् १४२३ मा इटालीको भेनिसमा विशेष उपकरणसहित कठोर नियम पालना गरिने ठूलो अस्पताल बनाइयो । वास्तवमा त्यो ठूलो अस्पताल विकराल रूपमा फैलिएको प्लेगको महामारीबाट संक्रमित रोगीहरूको उपचारका लागि बनाइएको थियो ।
कठोर अनुशासन पालनाका बावजुद त्यो अस्पतालबाट लाखौं रोगीहरूले पुनर्जन्म पाएका थिए । जुन अस्पताल एउटा निर्जन टापुमा बनिएको थियो । त्यही इजल्याण्डबाट आइसोलेसन (एकान्तबास) शब्दको उत्पत्ति भएको मानिन्छ । अहिले फेसबुकजस्ता सामाजिक सञ्जालमा सेल्फ आइसोलेसन भन्दै विभिन्न पोस्टहरू हालेको देखिन्छ । वास्तवमा आइसोलेसन ब्याक्टेरिया वा भाइरसको संक्रमणपछिको सामाजिक विच्छेदको अवस्था हो ।
क्वारेन्टाइन के हो त ?
क्वारेन्टाइन शब्दको उत्पत्तिको पछाडि मरियम वेबस्टर डिक्सनेरीको अनलाइन पोर्टलका अनुसार खास गरेर फ्रेन्च र इटालियन दुई भाषाको विशेष प्रभाव रहेको भेटिन्छ ।
शुरुवातमा क्वारेन्टाइन शब्द फ्रेन्च भाषाबाट लिइएको पाइन्छ जसको अर्थ करीब ४० हो । जुन चौधौं शताब्दीको अन्ततिरको कुरा हो । यसबाहेक बाइबलबाट पनि एउटा सन्दर्भ प्राप्त हुन्छ, जसमा जिसस क्राइस्टले केही समयका लागि रेगिस्तानी मुलुकहरूमा रहँदा निराहार उपवास राखेका थिए । जसको अवधि ४० दिनको थियो भन्ने उल्लेख गरिएको पाइन्छ । यसको विशेष धार्मिक अर्थ रहेको छ ।
त्यसपछि १६ औं शताब्दीमा ब्रिटेनको एउटा ठूलो जहाजलाई शहरमा नरोकी जनजीवनबाट विच्छेद गराई निकै टाढा राखिएको थियो । त्यसको अवधि पहिले ३० दिनपछि १० दिन थपी ४० दिन बनाइएको थियो । सो जहाजमा संक्रामक रोग फैलिएको थियो । त्यहीँबाट अंग्रेजीमा क्वारेन्टाइन शब्द प्रचलनमा आएको पाइन्छ । यसरी संक्रामक रोगबाट टाढा रहने अवधिलाई क्वारेन्टाइन भनिन थालिएको हो ।
१६ औं शताब्दीको अन्त्यदेखि अंग्रेजहरू आफ्ना जहाजहरूमार्फत् संसारका विभिन्न देशहरू गए । यसरी विभिन्न मुलुकबाट आउनेजाने क्रममा अंग्रेजहरूले डटालियन शब्दकोशबाट लिइएको यो क्वारेन्टाइन शब्दलाई प्रचलनमा ल्याए ।
इटालीमा चाहिँ यो शब्द फ्रान्सबाट आएको मानिन्छ र यो शब्द वास्तवमा ल्याटिन शब्द हो । ल्याटिन भाषा क्वारान्टिनोको विकसित रुप हो र जसको अर्थ पनि ४० नै हुन्छ भन्ने मान्यता छ ।
विनाशकारी महामारीको अवर्णनीय इतिहास
विश्वमा अहिले कोरोनाले तहल्का मच्चाइराखेको छ । मानव सभ्यताले यस्तो विपत झेलेको भने यो पहिलो पटक होइन । यो भन्दा अघि कयौं मानव संहारक विपत आइलागेका थिए । ती विनाशकारी महामारीहरूका साथै क्वारेन्टाइन र आइसोलेसन केहीको म यहाँ उल्लेख गर्न चाहन्छु ।
१. जस्टिनियन प्लेग
जस्टनियन प्लेग सन् ५४१ बाट शुरु भएको उग्र महामारी हो । करीब ५ करोड मानिसको ज्यान लिने यो विनाशकारी महामारीले संसारभर करीब ४ वर्ष त्रास मच्चाएको थियो । खोजकर्ताहरूका अनुसार विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत जनसंख्या यो महामारीले विनाश गरेको थियो । कसैले विश्वको कुल जनसंख्याको करीब आधा हिस्सा नै सखाप पारेको अनुमान लगाएका छन् । यो कसरी नियन्त्रण भयो भन्ने कुरा कसैलाई जानकारी छैन । जोजो बाँचे ती भाग्य र रोग प्रतिरोधात्मक क्षमता मजबुत भएकाहरू बाँचे भन्न सकिन्छ भन्ने विभिन्न इतिहासविद्हरूको भनाइ छ ।
अन्न खाने मुसाबाट फैलिएको अनुमान लगाइएको यो महामारी पहिलो पटक सन् ५४१ मा रोमको बाइजान्टाइन साम्राज्यको राजधानी कन्स्टान्टिनोपलमा देखा परेको थियो । बाइजान्टाइनका सम्राट जस्टिनियन पनि यो महामारीबाट संक्रमित भएका थिए तर उनले यो महामारीलाई जितेका थिए । त्यसैबाट यस्को नाम जस्टिनियन प्लेग रहन गएको हो ।
यसभन्दा अघि सन् १६५ मा पनि विश्वले ५० लाख मानव क्षति गर्ने एन्टोनाइन प्लेगजस्तो डरलाग्दो महामारी बेहोरिसकेको थियो ।
२. ब्ल्याक डेथ (कालो मृत्यु)
यो महामारी सन् १३४७ मा शुरु भएर १३५१ मा मात्र नियन्त्रणमा आएको मानव सभ्यताकै सबैभन्दा विनाशकारी दि ग्रेट प्लेग हो । यसलाई ब्ल्याक डेथ (कालो मृत्यु) नाम दिइएको छ । यसले ४ वर्षको अन्तरालमा विश्वको करीब २० करोड मानिसको ज्यान लिएको थियो । यो महामारी युरोपबाट एशियासम्म फैलिएर नरसंहार गरेको थियो ।
सन् १३४७ को अक्टोबरमा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै आएका १२ वटा जहाज रोकिए । त्यहाँको दृश्य अकल्पनीय र भयानक थियो । जहाजमा सवार मान्छेहरू अधिकांश मृत थिए जो बाँचेका थिए ती पनि रगत र पिपको फिँजमा डुब्न लागेका थिए । जहाजलाई त्यो शहरमा नरोक्ने निर्देशन दिएता पनि बेला बितिसकेको थियो । सो जहाज हेर्न भेला भएको भीडमा संक्रमण शुरु भइसकेको थियो । मेसिना बन्दरगाहबाट फैलिएको महामारीले युरोपमा मात्र २ करोड मानिसको ज्यान लिएको थियो भने त्यो भाइरसले संसारभर ४ वर्ष राज गरेको थियो । जुन युरोपको कुल जनसंख्याको १ तिहाइ थियो ।
यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न पूरा २ सय वर्ष लागेको थियो । त्यसबेलाका अनुसन्धानले यो प्लेग पहिलोपटक मुसामा उत्पत्ति भएको थियो भन्ने कुरा पत्ता लगाएका थिए जुन झिँगाको माध्यमबाट मानिसमा सरेको थियो ।
डिपल विश्वविद्यालयका इतिहासका प्राध्यापक थोमस मोकाइटिसका अनुसार यो महामारी कसरी रोक्ने भन्ने विषयमा त्यसबेलाका मानिसलाई केही ज्ञान नै थिएन न त कुनै उपचार पद्दति नै थाहा थियो । तर, उनीहरूलाई के थाहा भयो भने रोगी मानिससँग केही दुरी राख्दा वा संक्रमित मानिसको छेउमा नजाँदा यो रोग सर्दैन ।
त्यसपछि कडाइका साथ सामुद्रिक बन्दरगाहहरूमा पानि जहाजहरूको निरीक्षण र नियन्त्रण गर्न थालिएको थियो । शंकास्पद पानीजहाजहरूलाई ४० दिनसम्म शहर र बन्दरगाहहरूबाट टाढा राख्ने नियम बसालियो । मानिसलाई दूरीमा राख्न भनिएको थियो । वास्तवमा यो नै क्वारेन्टाइनको प्रारम्भिक स्वरुप थियो ।
त्यसबेला कुनै खोप र उपचारको विकास भएको थिएन । न त कुनै प्रयोग र परीक्षण नै भएको थियो । तर संक्रमितबाट दूरीमा रहने नियम र प्रयोगले महामारी नियन्त्रणमा भने उल्लेखनीय प्रभाव देखाएको थियो ।
३. स्पेनिस फ्लु
प्लेग अफ जस्टिनियन र ब्ल्याक डेथपछि सन् १९१८ को शुरुमा संसारभर फेरि एउटा यस्तो महामारी फैलियो, जसले ५० करोड मानिस संक्रमित भए । जुन संख्या त्यस बेलाको विश्वको जनसंख्याको एक चौथाइ थियो भन्ने विशेषज्ञहरूको अनुमान छ । २ वर्षसम्म विश्वलाई यस भयानक महामारीले गाँजेको थियो । ४ करोडदेखि १० करोडको बीचमा मानिसको मृत्यु भएको अनुमान गरिएको छ । जुन महामारीलाई सन् १३४७ को ‘दि ग्रेट प्लेग’ पछिको मानव सभ्यताको सबैभन्दा घातक र विध्वंसकारी महामारीमध्येको दोस्रो महामारीका रूपमा लिइन्छ ।
अमेरिकाको क्याम्प फन्सटन भन्ने सैनिक क्याम्पबाट फैलिएको अनुमान लगाइएको यो महामारीले शुरुमा त्यहाँ ४८ जना सैनिकको ज्यान लिएको थियो । त्यहाँ १ हजार सैनिक फ्लुबाट प्रभावित भएका थिए । त्यसपछि अमेरिकाभरिका १० लाख सैनिकमा यो रोगको संक्रमण देखियो । ती सैनिकहरू सन् १९१८ को वसन्त ऋतुमा पहिलो विश्वयुद्धको क्रममा विश्वका विभिन्न देशमा पुगे, जसबाट यो रोग संसारभरि फैलियो । तर आफ्नो हार हुन्छ भनेर युद्ध लड्ने देशहरूले महामारी लुकाउने कोशिस गरे । नतिजा भयानक र अकल्पनीय निस्कियो ।
स्पेन भने त्यो युद्धमा सामेल भएको थिएन । तर त्यो महामारीबाट स्पेन पनि धेरै प्रभावित भयो । स्पेनका सम्राट अल्फान्सो तेस्रो पनि यस महामारीबाट संक्रमित भएका थिए तर उनी बाँच्न सफल भए । स्पेनले नै यो महामारीको वास्तविकताबारे सूचना बाहिर ल्यायो । स्पेनबाट यो उत्पन्न नभए पनि यसलाई स्पेनिस फ्लुको उपनाम दिइयो ।
अहिलेसम्म संसारमा फैलिएका विभिन्न महामारीभन्दा फरक प्रकृतिको लक्षण देखाउने यो फ्लुले शुरुमा छालामा नीलो धब्बा देखाउँथ्यो । फोक्सोमा बाक्लो तरल पदार्थ भरिन्थ्यो र नाकबाट रक्तश्राव भई केही समयमै रोगीको मृत्यु हुने गर्दथ्यो । यो भाइरसबाट कसरी बच्ने कसैलाई थाहा थिएन । माइक्रोस्कोपबाट भाइरस पनि देखिँदैन थियो । तैपनि यसबाट बच्न त्यसबेला पनि मास्क प्रयोग गर्नुपर्ने कडा नियम जारी गरिएको थियो ।
योलगायत सरफाइमा ध्यान दिने, भीडमा नजाने, संक्रमितसँग दूरी राख्ने बताइएको थियो । सार्वजनिक स्थलहरू, चर्च, स्कुल, कलेज बन्द गरिएको थियो । यात्रा गर्न बन्देज गरिएको थियो । वास्तवमा यो पनि हालको क्वारेन्टाइनकै एउटा स्वरुप थियो । विशेष गरी अमेरिकामा यसले उत्पात मच्चाएको थियो । यो महामारीले त्यसबेला अमेरिकीहरूको औसत आयु १२ वर्ष घटाएको थियो ।
अमेरिका, युरोप, एशिया हुँदै विश्वभर फैलिएको यो महामारीबाट भारतले मात्र करीब १ करोड ८० लाख जनसंख्या गुमाएको थियो भने चीनमा करीब ९४ लाखको मृत्यु भएको अनुमान गरिएको छ । यसलाई नियन्त्रण गर्न सन् १९३८ मा खोपको विकास गरिएको थियो ।
४. बिफर (स्मलपक्स)
सन् १५२० देखि फैलिएको यो महाप्रलयकारी महामारीबाट ५ करोड ६० लाख मानिसको मृत्यु भएको थियो । अमेरिका, मेक्सिको हँुदै युरोप, एशिया र अरेबियासम्म फैलिएको यो महामारीले डढेलो स्वरुप लिएर विशेष गरी अमेरिका र मेक्सिकोको आदिवासी बस्ती भने सखापै पारेको थियो । जसबाट १० प्रतिशत आदिवासीमात्र बाँच्न सफल भएका थिए ।
१८ औँ शताब्दीको अन्त्यतिर मात्र एडवार्ड जेनरले स्मलपक्स विरुद्ध लड्ने भ्याक्सिन बनाए । जसले यो महामारीको अन्त्य भयो र महामारीको इतिहासमा यो नै पहिलो महामारी भयो जुन भ्याक्सिनद्वारा नियन्त्रणमा आयो ।
नेपालमा भने यो रोगबारे व्यापक अन्धविश्वास थियो । भाकल र पूजाआजा गरे यो रोग हराउँछ भन्थे । महामारीको बेला बालाजुमा शीतलामाईको मूर्ति नै स्थापना गरिएको छ । यो रोग कुनै देवीदेउताको श्राप होइन भनेर मान्छेलाई बुझाउन मुस्किल थियो । अन्धविश्वासको कारण बिफरले नेपालको जनसंख्यामा निकै ठूलो क्षति भएको थियो ।
२०२४ सालतिर बिफर नियन्त्रणको लागि देशका ५ जिल्लाबाट नाडीमा खोली हाल्न (खोप लगाउन) थालियो र पछि देशभर खोप अभियानको रुपमा यो विधि लागू गरी वि. सं. २०३१ साल चैत २४ गते नेपालमा बिफर उन्मूलन भएको घोषणा गरिएको थियो । १० जनामा संक्रमण भए ३ जना मर्ने यो भयानक महामारीले लाखौंको अनुहार र शरीरमा आफ्नो दाग छोडेको अझै भेटिन्छ भने धेरैको दृष्टि पनि खोसेको थियो । साहित्यकार भवानी भिक्षु पनि बिफरबाट प्रभावित भएका थिए ।
५. तेस्रो प्लेग
चीन र भारतमा अकल्पनीय विनाशलीला मच्चाएको तेस्रो प्लेग पनि मानव सभ्यताको ठूलामध्येको एक महामारी हो । यसलाई ब्युबोलिक प्लेग पनि भनिन्छ । यसलाई दि ब्ल्याक डेथ र जस्टिनियनपछिको तेस्रो ठूलो महामारी मानिएको छ । सन् १८५५ मा चीनको युनानबाट शुरु भएको यो महामारीले चीनमा मात्र १ करोड २० लाख मानिसको ज्यान गएको थियो ।
भारतमा भने यो हङकङबाट भित्रिएको थियो । शुरुवाती क्षणमा भारतमा मात्रै यसले १ करोड मानिसको ज्यान लिएको थियो । बेलायतले भारतमाथि उपनिवेश कायम राख्न खोज्दा बेलायतविरुद्ध भारतीय जनताहरूले गरेको आन्दोलन दबाउने क्रममा अंग्रेजहरूको महामारीप्रति गरिएको नजरअन्दाजको परिणाम थियो । त्यसपछिका तीन दशकसम्म पनि यसले भारतमा त्रास मच्चाइरह्यो । मानिसको मृत्युदर बढी भयो । थप १ करोड २५ लाख मानिसले यो महामारीको कारण ज्यान गुमाए ।
त्यसबेलाका शासकहरूले यो रोग नियन्त्रण गर्न क्वारेन्टाइन, आइसोलेसन क्याम्प, यात्रा प्रतिबन्ध, सभा सम्मेलनमा रोकजस्ता उपायहरू त अपनाएका थिए । तर, ती खासै प्रभावकारी भएनन् । किनकि अंग्रेज सरकार महामारी नियन्त्रणभन्दा सत्ता जोगाउन बढी केन्द्रित थियो । यो रोग दक्षिण अफ्रिका, अमेरिका, इक्वेडरलगायतका मुलुकमा पनि पुगेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९६० सम्म यो महामारी अस्तित्वमा रहे पनि मृत्युदर भने केही कम थियो ।
६. प्लेग आफ लण्डन
प्लेग अफ लन्डन पनि संसारको निकै ठूलो महामारीमध्येको एक महामारी हो । सन् १३४७ को ब्ल्याक डेथपछि ३ सय वर्षसम्म यसले विनाशलीला रच्यो । जसले बेलायतमा मात्र संक्रमितमध्ये २० प्रतिशतको ज्यान लिन्थ्यो । सन् १६६५ मा लण्डनमा देखिएको प्लेग अत्यन्तै विनाशकारी भएर आयो, जसले ७ महिनाको अन्तरालमा १ लाख मानिसको ज्यान लियो ।
संक्रमितलाई गरिने कुनै उपचार थिएन, त्यसकारण उनीहरूलाई घरमै थुनेर राखियो । मृत्यु हुनेहरूलाई सामुहिक रूपमा गाडिएको थियो । यस्ता प्लेगहरूले विश्वभर शताब्दीयौँसम्म आतंक मच्चाइरहेको देखिन्छ । भ्याक्सिन र औषधिहरू पत्ता नलागिसकेको हुनाले यस्ता प्लेग वा महामारीबाट बच्ने सबैभन्दा भरपर्दाे उपाय भनेको केवल क्वारेन्टाइन नै भएको इतिहासमा पाइन्छ ।
७. एचआइभी र एड्स
सन १९८१ देखि हालसम्म महामारीको रुपमा रहेको एचआइभी एड्स रोग शुरुमा चिम्पान्जीबाट मानिसमा आएको हो भन्ने अनुमान गरिएको छ । यसको संक्रमणबाट विश्वभर ३ करोड ५० लाख मानिसको मुत्यु भइसकेको छ । हालसाल संसारभर करीब ३ करोड ८० लाख मानिसमा यो महामारीको संक्रमण रहेको सम्बन्धित खोजकर्ताहरूको अनुमान छ । सन् २००४ मा मात्र एड्स लागेर १७ लाख मानिसले ज्यान गुमाएका थिए । सन् २०१८ मा मात्र १७ लाख मानिस यो महामारीबाट संक्रमित भएको रेकर्ड छ ।
अहिलेसम्म औषधी पत्ता नलागेको यो महामारी विश्वमा अहिले गम्भीर स्वास्थ्य चुनौतिको रुपमा उभिएको छ । असुरक्षित यौन सम्पर्क र रगतका माध्यमबाट सर्ने यो रोग संक्रमित आमाबाट जन्मेको बच्चामा पनि भेटिएको छ ।
अहिले एड्सका रोगीहरूलाई विभिन्न निकायहरूद्वारा सावधानीका साथ समाजमा स्थापित गराउने प्रयासहरू जारी छ ।
आम जनसमुदायहरूसँगको भौतिक सम्पर्कहरूबाट भने टाढै राखिन्छ । यो पनि एक प्रकारको आइसोलेसन हो ।
माथि उल्लेख गरिएका बाहेक विश्वमा अन्य पनि भयानक महामारी फैलिएको इतिहास छ । ती रोगको संक्रमणबाट लाखौं, करोडौं मानिसको ज्यान गएको थियो ।
जापानिज बिफर, १७ र १८ औँ शताब्दीमा फैलिएको प्लेग, हैजा, रसियन फ्लु, एल्लो फ्लु, हङकङ फ्लु, सार्स फ्लु, स्वाइन फ्लु, इबोला भाइरसजस्ता डरलाग्दा महामारीहरुले विश्वभर लाखौंको ज्यान गएको तथ्यांक पाइन्छ ।
अतः सरकारले घोषणा गरेको ‘लकडाउन’को पूर्ण पालना गर्दै घरमै क्वारेनटाइन बसेर महामारीमाथि हेलचेक्र्याइँ नगर्नु नै बचावटको उत्तम उपाय देखिन्छ । बेवास्ता गर्दा के हुन्छ भन्ने बारेमा इटाली, अमेरिकालगायतका देशले भोग्नुपरेको परिणामबाट शिक्षा लिन सकिन्छ । त्यसैले सबै जना क्वारेनटाइनमा बसौँ र यो महामारीबाट आफू र मुलुकलाई जोगाऔँ ।
यो महामारी हाम्रोजस्तो विकासोन्मुख मुलुकमा प्रवेश गर्याे भने कस्तो स्थिति आइपर्छ त्यो अवस्था शायद अहिले हाम्रो कल्पनाभन्दा बाहिर नै होला ।
Facebook Comment
Banner
दुर्गा प्रसाईँ पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए । उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए ।
Banner
धनवन्तरी जयन्ती कि धनतेरस
महाभारतका अनुसार समुद्र मन्थनद्वारा अमृतको कलशसँगै प्रकट भएका, विष्णुका १२ औं अवतार र ओखती (आयुर्वेद)का अधिष्ठाता, देवताहरूका वैद्य धन्वन्तरीको प्राकट्य दिवस÷कार्तिक कृष्ण त्रयोदशीलाई नै धन्वन्तरि जयन्ती भनिन्छ ।
यस दिनमा धन्वन्तरीको आराधनाबाट आयु, आरोग्य एवम् ऐश्वर्य प्राप्त हुने कुरा शास्त्रीय मान्यता हो । तर कुरा नै नबुझेर केही भारतीय व्यापारीले सामान बेच्न चलाएको धनतेरसको हल्लामा हल्लिन अहिले सामाजिक सञ्जालमा पनि यो र त्यो किन्नुपर्छ भन्दै घातक मलजल गरेको पाइन्छ ।
यसले पसलमा भीडभाड हुने त पक्का छ तर कुरा नबुझेर गरेको अन्धविश्वासले मात्रै न त संस्कार बच्दछ न ऐश्वर्यलाई नै बचाउन सकिन्छ । त्यसैले सचेत बनौ, महङ्गीका मारमा नफसौं । भगवान धन्वन्तरीले हामी सबैलाई तन र मनले स्वस्थ राखून्..।
Banner
एसियाली खेलकुदः पुरुष क्रिकेटमा कीर्तिमानको वर्षा
अहिले खेल जगतमा एसियाली खेलकुद २०२३ सर्वाधिक चर्चित छ । जसअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता यही सेप्टेम्बर २७ देखि अक्टोबर ७ सम्म चलिरहेको छ । सो खेल चीनको हागझाउमा रहेको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भइरहेको छ । १३४७ दर्शक क्षमताको क्रिकेट फिड सम्पूर्ण सहभागी टिमको लागि हुनेछ । प्रतियोगितामा सिधै प्रवेश र छनोट चरण गरी दुई चरणमा खेल हुनेछन् । छनोट चरणमा ९ देश सहभागी रहनेछन् ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जुन १ २०२३ सम्मको आईसीसी टी २० वरियतामा शीर्ष पाँच वरीयता हुन् । उनीहरूलाई पुरुष क्रिकेट प्रतियोगितामा क्वार्टर फाइनलमा प्रत्यक्ष प्रवेश दिइएको छ । बाँकी नौ टोलीलाई प्रारम्भिक चरणका लागि तीन–तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ । एकल–लेग राउन्ड–रोबिन खेलहरू पछि समूह विजेताहरू क्वार्टरमा ठूलो पाँचमा सामेल हुनेछन् । नेपाल छनोट चरणको समूह ए मा रहेको छ ।
समूह ए मा नेपालसहित मङ्गोलिया र मालदिभ्स रहेका छन् । समूह चरणको पहिलो खेल अन्तर्गत नेपाल र मङ्गोलियाबीचको खेल नेपाली टोलीको लागि नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल मात्र भएन उक्त खेल अहिले विश्व क्रिकेट जगतमा सर्वाधिक चर्चाको खेल बन्यो । सो खेल सेम्टेम्बर २७ मा झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी खेलमैदानमा भएको थियो । सामान्य सुरुवात गरेको नेपाली टिमले ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल र अरिफ सेक क्रमशः व्यक्तिगत १९ रन र १६ रन जोड्दै पभेलियन फर्किए । त्यसपछि आएका ३ ब्याट्सम्यान कुशल मल्ल, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी खेल मैदानमा रनको वर्ष गर्दै झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी स्टुडियमलाई विश्व क्रिकेट इतिहासको साक्षी बनाए ।
भारतका आक्रामक ब्याट्सम्यानको टि २० फर्मेटको सर्वाधिक छिटो अर्धशतक युवराज सिंहको कीर्तिमानलाई दीपेन्द्र सिंह ऐरीले तोडेर कीर्तिमान विश्व क्रिकेटमा आफनो नाम दर्ज गर्न सफल भए । अर्का आक्रामक ब्याट्सम्यान कुशल मल्लले विश्व क्रिकेट टि २० इतिहासकै सबैभन्दा छिटो ३४ बलमा शतक पूरा गरी अर्को कीर्तिमान नेपाली खेलाडीको नाममा पार्न सफल बन्दै टि २० क्रिकेटमा सर्वाधिक ३१५ रनको उच्च स्कोरको इतिहास रच्न सफल भए ।
समूह चरणको दोस्रो खेलमा नेपाली टिमले अक्टोबर १ मा मालदिभ्सको सामना गर्ने छ । ३ समूहमा विभाजित टिममध्ये समूह विजेताले सेमीफाइनलमा सीधै प्रवेश गरेका टिमहरूको सामना गर्नेछन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login