पर्यटन
तराईका फाँट नियाल्न सकिने रमणीय भाग र ऐतिहासिक पोखरीको धनी लेटाङ नगरपालिका (विश्व पर्यटन दिवस विशेषः१)
विराटचोकः साबिकका ४ वटा विकट गाविस मिलेर लेटाङ नगरपालिकाको निर्माण भएको छ । यस नगरपालिकामा मोरङको विकट पहाडी भूभाग रहेको हुनाले पर्यटकीय क्षेत्र धेरै रहेका छन् । प्रकृतिले धेरै पर्यटकीय क्षेत्र यहाँ दिएको छ । जाँतेमा रहेको मानवनिर्मित जाँतोबाहेक अधिकांश पर्यटकीय क्षेत्र प्राकृतिक नै रहेका छन् ।

सुगम जिल्ला भए पनि दुर्गम क्षेत्र समेटिएको मोरङको लेटाङ नगरपालिकालाई धिमाल जातिको उत्पत्तिस्थल भएको विश्वास गरिन्छ । नगरपालिकाको नाम पनि धिमाल भाषाकै आधारमा रहेको पाइन्छ । प्राचीन धिमाल भाषामा ‘लेटा’ को अर्थ तल झरेको भन्ने हुन्छ । त्यही ‘लेटा’ शब्द अपभ्रंश भई लेटाङ भएको हो भन्ने भनाइ छ । धिमालहरुको उत्पत्ति स्थल र धिमाल राजा बस्ने राजारानी पोखरी पुग्न तल खोंचमा झर्नुपर्ने हुन्छ । त्यस्तै, लेटाङ बजार पनि पहाडबाट तल खोंचमा झरेजस्तै गरी झर्नुपर्ने हुन्छ । यसरी हेर्दा लेटाङको शाब्दिक अर्थ किंवदन्तीसँग मिल्न जाने देखिन्छ ।
लेटाङमा होम स्टेको निर्माण गर्न सके पर्यटकलाई तान्न सजिलो हुने उपप्रमुख कृष्णकुमारी पोखरेल, निरौला बताउँछिन् । उनका अनुसार लेटाङका सबै पर्यटकीय स्थल सुरक्षित नै छन् । कुनै पनि पर्यटकीय स्थल असुरक्षित छैनन् । पर्यटकीय क्षेत्र आसपास आदिवासी जनजातिको बाहुल्यता रहेको हुनाले राम्रो आतिथ्यता पनि पाइन्छ ।

लेटाङका राजारानी ताल, धिमालहरूको उद्गमस्थल राजारानी मन्दिर, वाराही ताल, किसे झरना, कोलुङ झरना मुख्य पर्यटकीय गन्तव्य हुन् । झोलुङ्गे पुलको नगरको रुपमा रहेको लेटाङका झोलुङ्गे पुल र सबैभन्दा ठूलो जाँतो हेर्न पनि आन्तरिक पर्यटक आउँछन् । सामुदायिक वनमा पार्क निर्माण गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिने उनी बताउँछिन् ।
उनका अनुसार पर्यटकीय क्षेत्रको विकासको लागि नगरले बाटो निर्माणको कामलाई प्राथमिकता दिएको छ । सवारी साधन जान सक्ने बाटो तथा सवारी जान नसक्ने ठाउँमा सिँढी निर्माण गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको छ । कृषि पर्यटनलाई बढी जोड दिइएको छ । अब बन्ने संरचना पर्यटन क्षेत्रसँग जोडेर बनाउने योजना रहेको पनि उनले बताइन् । बजारको तीनकुने क्षेत्रमा पार्क बनाउने पनि नगरको योजना रहेको छ । सामुदायिक वनमा पार्क निर्माण गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिने उनी बताउँछिन् ।
राजारानी पोखरी नगरको मुख्य पर्यटकीय क्षेत्रमध्येको एक हो । लेटाङ १ मा रहेको राजारानीमा धिमालहरुको मन्दिर छ । प्रत्येक वर्षको बैशाख २ गते झापा, मोरङ र सुनसरीका धिमालहरु भेला भएर त्यहाँ पूजा गर्ने गर्दछन् । राजारानीमा राजा पोखरी, रानी पोखरी र छोरी पोखरी छन् । त्यहाँ ४५ प्रकारका सुनाखरी फुल्छन् ।
लेटाङ– ५ मा रहेको वाराजी मन्दिर पनि धार्मिक पर्यटकीय स्थल हो । यो मन्दिरको स्थापनाको बारेमा रोचक किंवदन्ती छ । पहिले एक जना ब्राह्मणको बालीनाली सुँगुरले नष्ट गरेको र सो सुँगुरलाई मार्दा पत्थर भएको भनाइ छ । सो पत्थरलाई लगेर वाराजीको मन्दिर स्थापना गरेको भनाइ छ । सो पत्थर अहिले पनि देख्न सकिन्छ ।

वडा नम्बर १ मा साग्माभन्दा ३ किलोमिटर अगाडि किसे झरना छ । ४० मिटरमाथिबाट सो झरना झरेको छ । साबिक भोगटेनी र सिंहदेवीको बीचमा यो झरना पर्दछ । वडा नम्बर ८ मा कोलुङ झरना, वडा नम्बर ६ मा देउजे झरना पर्दछन् । वडा नम्बर ७ मा नादेब्लुङ झरना रहेको छ । त्यस्तै, वडा नम्बर ९ मा रहेको विशाल जाँतो पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । यो क्षेत्र पहिलेको जाँते गाविस हो ।
वडा नम्बर ५ मा रहेको जोरकुपमा रहेका जोर इनारबाट पानी निकालेर बर्खाको समयमा उपभोग गर्ने गरेको पाइन्छ । जोरकुपलाई पनि पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न सकिन्छ ।
१ हजार ७ सय मिटर उचाइसम्म लेटाङ नगरपालिकाको भूभाग रहेकाले नगरका धेरै स्थानबाट तराईका फाँट हेर्न सकिन्छ । नगरवासीको आर्थिक स्तर उकास्न पर्यटन क्षेत्रलाई प्राथमिकता दिने नगरले निर्णय गरेको छ । त्यसको लागि विभिन्न संस्थासँग सहकार्य गरी विभिन्न माध्यमबाट काम गर्ने र प्रचारप्रसारलाई फैलाउने काममा नगरपालिका अघि बढेको छ ।

Banner
साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने,एन्फा निलम्बनको असर,
साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
निलम्बनपछि नेपालले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।
योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।
नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।
साफमा नेपालले आफ्नो दाबेदारी प्रस्तुत त गर्थ्यो नै, खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउन पाउँथे । तर, यसपटक सहभागिता नजनाउँदा उक्त अवसर गुम्न पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह साफ सहभागी नहुँदा खेलाडीले आफुलाई प्रमाणित गर्ने प्लाटफर्म गुमाएको बताउँछन् ।
‘दुई–तीन वर्षमा आउने प्रतियोगिता, यही प्रतियोगिता खेलेर कतिजना खेलाडीहरू विदेश अरू देशमा व्यावसायिक फुटबलमा कन्ट्याक्ट हुने अवसर पनि हो, एउटा प्लेटफर्म पनि हो साउथ एसियाका खेलाडीहरूको लागि । अब यो पनि वञ्चित हुने भयो’ उनी भन्छन्, ‘माथिको एउटा पोलिटिकल लडाइँले गर्दाखेरि आज खेलाडीहरूमा ठूलो मार परिरहेको मैले महसुस गरेको छु ।’
‘मै हुनुपर्छ’ भन्ने दम्भका कारण नेपाली फुटबल यो अवस्थामा आइपुगेको सिंहको अनुभव छ । ‘जुन पहिला राजनीतिक संरक्षण थियो । त्यो राजनीतिक संरक्षण भएको कारणले गर्दाखेरि उहाँहरूसँग दम्भ आयो त्यो बेलामा, हामीलाई कसैले केही गर्न सक्दैन, बहुमत हामीसँग छ, जस्तै गलत निर्णय गरे पनि हामी नै हौँ भन्ने भयो’ उनी भन्छन्, ‘एउटा दम्भ, घमण्ड र जुन पोलिटिकल शक्तिको मिसयुज भयो । जसले गर्दाखेरि नै फुटबलमा यो घटना दुर्घटना घटेको हो ।’
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार मात्रै साफमा नेपालको सहभागिता सम्भव नरहेको संकेत गरेका थिए । साफका लागि ढिलो भइसकेको र घरेलु लिग सञ्चालनको तयारीमा लागिरहेको उनको भनाइ थियो । एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, ‘साफभन्दा अगाडि ढिलो भइसकेको छ । केही गरी निलम्बन खुलेन भने के गर्ने भनेर हामीले विभिन्न खेलाडीसँग छलफल गरेका छौं । घरेलु लिग गर्नुपर्यो । घरेलु लिग नखेलेको वर्षौं भइसक्यो भनेर खेलाडीहरूबाट आइसकेपछि घरेलु लिगका लागि तयारी गरिराखेका छौंं ।’
उनको भनाइलाई आधार मान्ने हो भने नेपाल तत्काल फिफाबाट निलम्बन फुकुवा हुने सम्भावना छैन । यसअघि मन्त्री पोखरेलले सार्वजनिक रुपमै फिफासँग सकारात्मक छलफल भएको र छिट्टै निलम्बन फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए । तर, फिफाबाट सकारात्मक जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने दिशामा अगाडि बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ । अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा (विश्व पर्यटन दिवस विशेषः २) - निष्पक्षखबर
Pingback: सम्भावना रहे पनि पर्यटक तान्न नसकेको सुन्दरहरैंचाको कालीखोला पोखरी (विश्व पर्यटन दिवस विशेषः ३)
Pingback: उर्लाबारीको शानः बेतिनी सिमसार (विश्व पर्यटन दिवस विशेष ७ ) - निष्पक्षखबर
Pingback: मिक्लाजुङका पर्यटकीय क्षेत्रहरु ( विश्व पर्यटन दिवस विशेष ८) - निष्पक्षखबर