शिक्षा / स्वास्थ्य
शिक्षा निकेतन माविको ३३ औँ वार्षिकोत्सव सम्पन्न २ विद्यालय समायोजनका विषयमा मन्त्री कार्कीद्वारा प्रशंसा
विराटचोकः ‘शिक्षा निकेतनको लक्ष्य, गुणस्तरीय शिक्षासहित सम्पूर्ण विद्यार्थी वर्गको उज्ज्वल भविष्य’ भन्ने नाराका साथ शिक्षा निकेतन माध्यमिक विद्यालय सलकपुरले आफ्नो ३३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न गरेको छ ।

बुधबार विद्यालयको प्राङ्गणमा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की लगायतका अतिथिले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । यस्तै बुधबार नै अभिभावक दिवसको अवसरमा प्रकाशित मुखपत्र २०६६ को विमोचन समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले देशको परिवर्तनसँगै सम्रग विकास र समृद्धिप्रति चासो व्यक्त गरेका थिए ।

उनले सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था, सामुदायिक सुरक्षा निकाय, सामुदायिक विभिन्न संस्थाहरू जबसम्म बलियो हँुदैनन् तबसम्म विकासको कुनै परिकल्पना गर्न नसकिने धारणा व्यक्त गरे । अहिलेसम्मको अभ्यास उल्टो दिशातर्फ लागेको बताउँदै सुल्टो बाटोतर्फ हिँडाउने कोशिस गरिरहेको उनले बताए । मन्त्री कार्कीले मूलभूत विकास भनेको जनशक्तिको उत्पादन हुने बताए ।

यसका लागि राज्यसँगै स्थानीय विद्यालय लागि पर्नुपर्ने धारणा उनले व्यक्त गरेका थिए । मन्त्री कार्कीले शिक्षा निकेतन र सूर्योदय आधारभूत विद्यालय समायोजन हुनुले प्रदेशकै नमुना काम भएको बताउँदै प्रशंसा गरेका थिए । मन्त्री कार्कीले विद्यालयलाई आवश्यक रहेको भवन बनाउन प्रदेश सरकारको साथ र सहयोग हुने समेत उल्लेख गरे ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, समाजसेवी कृष्णप्रसाद भट्टराई, उद्धव रिजाल, कृष्ण लामिछानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष न्यौपानेले मन्तव्य व्यक्त गर्दै विद्यालयलाई शिक्षाको क्षेत्रमा उचाइमा पु¥याउन नगरपालिकाको तर्फबाट आवश्यकता अनुसार सहयोग गर्ने बताए ।

२०४४ सालमा सेउलाको छाप्रोबाट शुरु भएको सो विद्यालय आधुनिक भवन निर्माण, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, अहिलेको परिवेशमा सीसी क्यामेराबाट विद्यार्थी तथा विद्यालयको गतिविधि नियाल्दै प्रविधिमैत्री शिक्षामा यस विद्यालयले जोड दिएको प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले बताएका छन् ।
वार्षिकोत्सवको अवसरमा गरीब तथा जेहेनदार बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो । बज्रमोहन आचार्य स्मृतिबाट ५ जना, कुमार राई स्मृतिबाट ४ जना, कृष्णप्रसाद पोखरेल स्मृतिबाट ३ जना र चुडामणि ढकाल स्मृतिबाट २ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको थियो । यस्तै माछापुच्छ«े बैंक विराटचोक शाखाले पनि ५ जना जेहेनदार तथा गरीब विद्यार्थीलाई पुरस्कार र नगद प्रदान गरेको थियो । मङ्गलबार सञ्चालित आनन्दप्रसाद रिजाल स्मृति हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

सो हाजिरीजवाफ प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी, साजीलाल मावि दोस्रो, पञ्चायत मावि तेस्रो र महेन्द्र मावि चौथो भएका थिए । हाजिरीजवाफमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याउने विद्यालय तथा सहभागी विद्यालयलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष रिजालले समाजको नेतृत्व वर्ग राजनीतिकर्मी, शिक्षाप्रेमलगायतको सहयोगले विद्यालय आजको अवस्थामा आएको बताए ।

वर्तमान जनप्रतिनिधिहरूको सक्रियता, लगनशीलता र दूरदर्शिताले शिक्षामा आमूल परिवर्तन ल्याउन सहयोग पुगेको समेत बताए । अध्यक्ष रिजालले विद्यालयका उल्लेख्य कार्यहरू समेत अवगत गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक घनश्याम ढकालले गरेका थिए ।


यो पनि पढ्नुहाेस्
सुन्दरहरैंचाका २ विद्यालयको समायोजन गर्ने नगरकार्यपालिकाको बैठकको निर्णय
सुन्दरहरैंचामा शिक्षा क्षेत्रको अवस्था भयावह : एउटा कक्षामा १ जना विद्यार्थी
एउटा कक्षामा २ विद्यार्थीका भरमा पढाइ हुँदैछ सुन्दरहरैंचामा
मन्त्री कार्कीले यसरी गरे समायोजन हुने विद्यालयको प्रशंसा भिडियो
Banner
महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए। उनका अनुसार आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी गर्न लागिएको छ। कार्यक्रममा देवकोटाका छोरा पद्मले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा)का दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनको निधन भने २०१६ साल भदौ २९ गते भएको हो ।
दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा उनले महत्त्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गरेका थिए। वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे। उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरे। विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।
Banner
डा. सुनील शर्माले सम्हाले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व, १ हजार विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएसँगै डा. सुनील शर्माले फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति आभार व्यक्त गर्दै डा. शर्माले निवर्तमान सभापति सुजाता कोइरालाप्रति विशेष धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति पनि उनले कृतज्ञता व्यक्त गरे।
पितातुल्य राजनीतिक अभिभावक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्नु आफ्ना लागि केवल पद नभई ठूलो जिम्मेवारी र भावनात्मक क्षण भएको डा. शर्माले बताए।
“आफ्नो विवेक, क्षमता र सामर्थ्यले भ्याएसम्म फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउनेछु,” उनले भने।
गिरिजाप्रसाद कोइरालाको आदर्श र योगदानलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. शर्माले आफूले गर्ने कामबाट स्वर्गीय गिरिजाबाबुको चित्त प्रसन्न हुने गरी अघि बढ्ने प्रयास गर्ने बताए।
यसै अवसरमा डा. शर्माले स्वास्थ्य सेवामार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने महत्वपूर्ण घोषणा पनि गरेका छन्। उनले यस वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।
फाउन्डेसनको नेतृत्वसँगै स्वास्थ्य सेवामार्फत विपन्न तथा असहाय नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने अभियानलाई समेत अघि बढाउने डा. शर्माको घोषणाले सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई व्यवहारमै रूपान्तरण गर्ने संकेत गरेको छ।
Banner
बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।
सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।
विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।
साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: सुन्दरहरैंचामा पहिलो पटक समायोजन भएको विद्यालयले गति लिँदै - निष्पक्षखबर